Friday, 11 September 2015

एक-एक रुपैयाँले बन्छ- नयाँ धरहरा!


भूपेन्द्र खड्का

देश भूगोल मात्रै होइन। देश जनता मात्रै होइनन्। देश बन्नका लागि विशेष कला, संस्कृति, साहित्य र सभ्यताको अहम् भूमिका हुन्छ। मानचित्रमा आकार बनाउँदैमा देशले पूर्ण आकार पाउँदैन। हामीले नेपाललाई सगरमाथाको देश भनेर सधैँ गर्व गरिरह्यौं। बुद्धको देश भनेर कराइरह्यौं। हाम्रो देश विश्व कलाका अदभूत नमुनाले सजिएको देश हो भनी जहिल्यै बिर्सियौं। काष्ठकला, वास्तुकला, मूर्तिकला र प्रस्तरकलाका लागि हामी संसारभर यति प्रसिद्ध छौं कि त्यसको मूल्य अझै हामी बुझ्न सकेनौं।
 
मुगल-लिच्छ्बी-मल्लकालीन कलाको नमुना यो देशको गरिमालाई उँचो राख्न हामी कहिल्यै अग्रसर भएनौं। हामीले यत्ति बुझ्यौँ, हामी नेपाली, बीर गोर्खाली। हामी बलिया छौं। संसार जित्ने हामी हौँ। तर अब संसार जित्ने पालो हाम्रो हो। देशमा आइपरेको महाविपत्तिलाई संयम र धीर भई शक्तिमा रुपान्तरण गरी नयाँ नेपाल बनाउने पालो यो देशका जनताको हो, हाम्रो हो।
 
ढलेको धरहराले अहिले संसारभर चर्चा पाइरहेछ। करिब ८ हजार मानिस मर्नुमा जति पीडा छ, त्योभन्दा बढी पीडा धरहरा ढल्नुमा छ। पर्यटनको आकर्षण र देशको ऐतिहासिक-पुरातात्विक महत्वको स्तम्भ ढलेको होइन, लडेको हो। यो एक दिन उठ्छ, आफ्नो छातीमा लागेको धूलो टकटकाउँदै पक्कै उठ्छ। तर कसरी उठ्छ ? कुनरूपमा उठ्छ ? यो आम प्रश्न हो।
 
धरहरा निर्माणका लागि अहिले केही निजी चासो र बहसका खबरहरू सुनिन थालेका छन्। कुनै निजी संस्था, एनजीओ-आइएञ्जिओ वा अन्तर्राष्ट्रिय संघ-संस्था/देशलाई यस्ता धरोहर निर्माण गर्न दिनु राष्ट्रको मान-मर्यादामा आधात पुग्नेमात्रै होइन, देशको गौरव र पहिचान पनि गुम्नु पनि हो। यस्ता धरोहरको निर्माण सरकार स्वयमले गर्नुपर्छ। पटक-पटक ढल्दा स्वयम् सरकारले पुनः निर्माण गरेर ठडाएको यसको गौरव जोगाउनु देशको गौरव जोगाउनु हो। सरकारको शिर ठाडो हुनु हो। यसको आकार-प्रकारका बारेमा अब वैज्ञानिक बहस गर्न सकिन्छ। संसार हल्लाएका नेपाली डिजाइनरहरू जन्मिसकेका छन्। यसको डिजाइनका लागि बरु खुला आह्वान गर्न गरिनुपर्छ।
 
धरहरा हाम्रो गौरव हो। हाम्रो शान हो। निशानी हो। कुनै समयमा जसको जे स्वार्थले निर्माण भएको भए पनि अब हाम्रो स्वार्थ यसमा जोडिएको हुनुपर्छ। शिरको टाउको छेदन गरी हामी बाँच्न सक्दैनौँ। नेपाली शरीरमा विदेशी टाउको जोडेर बाँच्न पनि सक्दैनौँ। धरहरा हामी आफैले बनाउनुपर्छ। अबको धरहरामा ३ करोड ७० लाख नेपालीको पसिना र गौरव जोडिनु पर्छ। सबै नेपालीको एक-एक रुपैयाँले धरहरा बन्न सक्छ। उदारमनाले लाखौं सहयोग गर्न सक्छन्। यसलाई सरकारले अभियानका रूपमा लैजानु पर्छ ताकि नेपालीलाई गौरव होस्, यो हाम्रो हो।
 
सकिन्छ भने अझै धरहराको नाममा फाउन्डेशन नै निर्माण गरौँ। नेपालीबाटै उठेको रकमबाट केही कोश खडा होस्। त्यसले यस्तै दैवी प्रकोप पर्दा उद्दार गर्न मद्दत पुगोस्। राहत वितरण गर्न पुगोस्। इतिहासका गर्वमा लुकेका वा लुकाइएका यसका ऐतिहासिक महत्वका इट्टा वा अन्य धातुहरूलाई जोगाउनका लागि अहिले चनाखो हुनुपर्ने सरकार नै हो। यसमा हाम्रो खबरदारी जारी रहनुपर्दछ। यसले हामीलाई देशको माया र कर्तव्य बोध समेत गराउनेछ।
 
धरहराको इतिहास:
 
२०३ फिट अर्थात् ६१.८८ मिटर अग्लो थियो, धरहरा। वि.सं. १८८२  मा मुख्तियार काजी भीमसेन थापाले रानी ललिता त्रिपुरा सुन्दरीको स्मृतिमा यसको निर्माण गरेका थिए । त्यति बेला यसलाई ललित त्रिपुरा सुन्दरी टावर भनिन्थ्यो । ११ तला निर्माण गरिएको धरहरा ८ वर्षपछि १८९० भदौ १२ गतेको भूकम्पले क्षतिग्रस्त बन्यो। यसको पुनर्निर्माणपछि दुई तला घटे। ९ तले धरहरा बन्यो। यो धरहरामा २१३ वटा खुट्किला थिए । आठौँ तलामा चौघेरो बाल्कोनी थियो। जहाँबाट काठमाडौँ उपत्यकाका चारै दिशाका दृश्यहरू हेर्न सहजै सकिथ्यो। यसको छानोमा आर्सेनिक, फस्फोरस,आल्मुनियम, म्याग्नेसियमलगायतका पदार्थ मिश्रण गरिएको तामा र जस्ताको छानो थियो। यसको टुप्पोमा गजुर थियो ! यसका इँटा र बज्र (चुन, सुर्की,मास र चाकुको मिश्रण) ले गरिएको थियो ! जुन ५.२ मिटर अर्थात् १७ फीट थियो। नवौं तलामा शिव-लिङ्ग  स्थापना गरिएको थियो।
 
वि.सं. १९९० साल माघ २ गतेको भूकम्पले त्यो धरहरालाई क्षति पुर्यायो। यसको पुनर्निर्माण  गरे, तत्कालीन राणा प्रधानमन्त्री जुद्धसमशेरले । पहिलेको स्वरूपभन्दा केही फरक तर उस्तै-उस्तै बनाइयो नयाँ धरहरा। त्यसपछि यसलाई धरहरा अर्थात् भीमसेन स्तम्भ भनियो। कालान्तरमा यो धरहराकै नामले इतिहासका पानामा अमर बन्यो। राष्ट्रिय विपत्ति, दुर्घटना, आपत आई परेका बेला वा राष्ट्रिय महत्वका कुनै कुरा घोषणाका बेला सेनाले सूचना सम्प्रेषण गर्नका लागि
धरहरा निर्माण गरिएको थियो। जति बेला टेलिफोनको विकास भैसकेको थिएन। यो मुगल र युरोपियन शैलीमा निर्माण गरिएको थियो। जुन पूर्वी इरानको अजरबैजान शहरमा स्थापित मिनारेट जस्तै थियो।
 
यसको आरोहणका लागि सन् २००५ मा सबैलाई खुल्ला गरिएको थियो। वि.सं. २०७२ साल वैशाख १२ गतेको भूकम्पले यो पूर्णरूपमा क्षतिग्रस्त भयो । धरहरामा करिब १८० जनाले ज्यान गुमाए।

No comments:

Post a Comment