Monday 14 September 2015

अंग्रेज युद्धको सम्झनामा उजीरसिंह थापा : रणउजीरेश्वरी जात्रा (तानसेन, पाल्पा)


२० भदौ, पाल्पा । तत्कालिन नेपाल-अंग्रेज युद्धको सम्झनामा आइतवार पाल्पाको तानसेनमा जात्रा निकालिएको छ । नेपाल-अंग्रेज युद्धको सम्झना स्वरुप तानसेनमा एक सय ९६ औं जात्रा निकालिएको हो ।
Bhagawati-Jatra-Palpa
वि.सं. १९७२ मा अंग्रेजसँगको युद्धमा जानुअघि तत्कालिन तैनाथवाला कर्णेल उजीरसिंह थापाले अष्टभुजा माता भगवतीलाई लडाइँ जित्नेका साथ भाकल गरेका थिए ।
त्यतिबेला लडाइँ फत्ते गरी पाउँ भनी हरेक वर्ष सरकारी सम्मानका साथ रथयात्रा चलाउने कर्णेल उजीरसिंहले भाकल गरेको भन्दै सरकारी स्तरमै हरेक वर्ष रणउजीरेश्वरी भगवती जात्रा मनाउने गरिएको तानसेनका संस्कृतिविद् निर्मल श्रेष्ठ बताउँछन् ।
पाल्पाका तात्कालीन तैनाथवाला कर्णेल उजिरसिंहले भाकल पूरा भई विजय प्राप्त गरेको भन्दै विसं १८७२ मा तीनतले भगवती मन्दिर निर्माण गरेका थिए ।
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाईन यो जात्रा नेपाल अंग्रेज युद्धसँग जोडिएको हुँदा राष्ट्रिय महत्वको भनेर चर्चा हुदै आएको छ । वि.सं १८७१-७२ सालमा नेपाल अंग्रेजहरुबीच जीतगढीको युद्धमा जीत हुन नसके पनि पश्चिममा नालापानी, मलाउँ, जैठक आदि क्षेत्रमा जित भएपछि अंग्रेजहरुले आफ्नो अनुकुल नेपाललाई सुगौली सन्धीमा हस्ताक्षर गर्न बाध्य बनाएको थियो ।
सुगौली सन्धीले नेपालको सिमाना पूर्वमा मेची नदी, पश्चिममा महाकाली, दक्षिणमा चुरे पहाड साँध लगाईदियो । नेपालले अधिकांश मैदानी इलाका गुमाउनु परे पनि मुख्य विवादको रुपमा रहेकेा बुटवल भने अंग्रेजले नेपाललाई नै दियो । बुटवल नेपालले पाउने सन्धी गरिएपछि पाल्पाका तैनाथवाला उजिरसिंह थापा निकै खुशी भए ।
Bhagawati-Jatra-Palpa-1
जीतगढीमा भएको विजयपछि खुशी देखिएका उजिरसिंहले जीतगढी युद्धमा जानुअघि तानसेनको भगवती सामु गरेको भाकल गरेका थिए । आफ्नो भाकल स्वरुप विजयी भएको विश्वासमा उजिरसिंहले तानसेनमा भगवतीको भब्य र कलात्मक मन्दिर बनाउने योजना स्वरुप वि.सं. १८७१-७२ मा भएको युद्धको समाप्तीपछि मन्दिर बनाएका हुन् ।
उक्त मन्दिर चाँडै नै भत्किन गएकोले उजीर सिंहका भाई माथवरसिंह थापा पाल्पाको तैनाथवाला भएर आएको बेला वि.सं. १८८६ मा मन्दिरको जिर्णोद्वार गराएको अभिलेख रहेको इतिहासविद् डा. कर्णबहादुर बाँनियाले भगवतीजात्राबारेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी विदासमेत दिने गरिएको छ ।
पाल्पा सदरमुकाम तानसेनमा भब्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी र स्याङ्जाबाट समेत आउने गर्दछन् ।
काठमाडौमा धार्मिक संस्कृति सँग जोडिएका विभिन्न खालका जात्राहरुलाई महत्वका साथ लिने र राष्ट्रपतिले समेत नजर गर्ने परम्परा रहेको भएपनि पाल्प्ााको ऐतिहासिक महत्वको यो जात्रालाई भने सरकारको नजर पुग्न सकेको छैन ।
पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले बि्रटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वासमा सिन्दुर यात्रासहित भगवतिको रथ निकाल्ने गरिएको हो ।
वि.सं.१९९० सालको भुईचालोले मन्दिर चर्किएर १९९२ सालमा भत्किएपछि तत्कालिन श्री ३ जुद्धशमशेरबाट मन्दिर जिर्णोद्वार गराउने हुकुम प्रमांगीअनुसार उजीरसिंहकै सन्तानले मन्दिरको वि.सं.२०३१ सालमा मन्दिरको मर्मत सम्भारको लागि तत्कालिन राजा वीरेन्द्रबाट एक लाख रुपैंया निकासा गराएको स्थानीय संस्कृतिकर्मीहरु बताउँछन् ।
यो जात्रा तानसेनमा स्थानीय रुपमा मनाईदै आएको भए तापनि यो जात्राको राष्ट्रिय महत्व रहेको छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ ।
तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउजीरेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ शुरु हुने रथयात्रा तानसेन दरबार परिसर हुँदै दरबारको मुलढोकाबाट निकालेर बजार परिक्रमा गरिन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/09/322060/#sthash.7q1lNZdV.dpuf

No comments:

Post a Comment