Monday 7 September 2015

बगाले थापाको ऐतिहासिक रुपरेखा (२)


१. बगाले थापाको प्राचीनता र राजकाज:

नेपालका अधिकांश जिल्लाहरुमा छरिएर रहेका आत्रेयगोत्री बगाले थापा क्षत्रीहरुको उद्गम थलो म्याग्दी जिल्ला हो । यी बगाले थापाहरु भारतको देहरादुन, मणिपुर, सिक्किम, पञ्जाव आदि क्षेत्रहरुमा पनि रहेका छन् । बडाकाजी अमरसिंह थापा, मूख्तियार तथा कमाण्डर–इन–चिफ भीमसेन थापा र नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा यही थापा वंशका हुन् । यस वंशका मूल पुरुष कालु थापा हुन् । कालु थापा वि.सं. १२४६ मा डोटीका राजा भएका थिए ।

अनुसन्धानको क्रममा ऐतिहासिक ताकमकोट : डा. दिनबहादुर थापा, बमबहादुर थापा, राज थापा , तस्विर लक्ष्मण थापा , लेखक भीमबहादुर थापा



 “आत्रेयगोत्री बगाले थापाहरु(को) श्री शाके. ११११ (वि.सं. १२४६) मा डोटी काँडा मालिकामा अत्रेयगोत्री त्रिप्रवर, शुक्ल यर्जुवेदी धर्नुवेदी, मध्यान्दिनी शाखाध्यायी श्री कालु थापाको जन्म, कर्म, शिक्षा, दीक्षा राज्य स्थापना वंश विस्तार भयो    (योगी, २०४६ः भूमिका) ।” भन्ने भनाइले थापा राज्यको इतिहास शुभारम्भ भएको   बताउँछ । “आत्रेयगोत्री बगाले थापा कालु वि.स. १२४६ मा डोटीको राजगद्दीमा बसेको कुरा वंशावलीहरुमा स्पष्ट लेखिएको देखिन्छ र तिनै वंशावलीलाई आधार मान्दा कालु थापाका छोराहरु जेठा, माहिला र कान्छा क्रमशः पुला, ताकम र ज्यामरुकमा राजा भएको मान्नु पर्ने हुन्छ  (बानियाँ, २०६२ः६) ।” यहाँ कालु थापाका ३ भाइ छोराहरु उल्लेख भए पनि उनका छोराहरु ४ भाइ थिए । यहाँ उल्लेख गर्न छुटेका साइँला छोराको नाम विरु थापा थियो र उनी रुकुमकोटका राजा भएका थिए ।
कालु थापाका ४ भाइ छोराहरुको नाम माथि नै उल्लेख भइसक्यो । “नेपालको एकीकरण, संरक्षण र सम्वद्र्धनमा नेपालका अनेकौ भाइभारदारहरुले आफ्नो रगत र पसिना बगाएका छन् । ती भारदारहरु मध्ये बगाले थापा वंशको पनि महत्वपूर्ण स्थान छ । यो वंशको उद्गम स्थान कर्णाली प्रदेश मानिन्छ । यिनीहरु यहाँबाट पूर्वतिर बसाइ सर्दै गएर गण्डकी प्रदेशमा पुगेको देखिन्छ । यिनीहरु पश्चिमबाट पूर्वतिर सर्दै गएको कुरा थापा वंशावलीमा यस प्रकार उल्लेख गरिएको छ (बानियाँ, २०७०ः३) ।” थापा वंशावलीको विवरण यसप्रकार छ ः “ ....... श्री साकेः ।। ११११ सम्वत् १२४६ साल देषि थापाहरुका सन्तति कुलका आदि कालु थापा हुन ः ।।१।। कालु थापाका चेला ४ जेठा पुन्याकर थापाः ।। माहिला तारापति थापाः ।। साहिँला विरु थापाः ।। कान्छा धर्मराज थापाः ।। पुलामका जेठा हुनः ।। ताकमका माहिला हुनः ।। जमरिकका कान्छा जसोधर थापा (धर्मराज) हुनः तिनले जमरिकमा राज्य पनि ग¥याः ताहाँ देषि तिनी आयाका हुनः ।।२।। .... (योगी, २०१२ः ११९–२०) ।” बगाले थापाको उपस्थिति सर्वप्रथम जुम्लाको सिञ्जा क्षेत्रमा भएको मानिन्छ । यी थापाहरु जुम्लाबाट डोटी, म्याग्दी, लिमिठाना(पर्वत), लमजुङ हुँदै गोर्खा पुगेको पाइन्छ । जुम्लामा छँदा सैनिक भारदारका रुपमा रहेका थापाहरु केही कालखण्ड राजा नै भएर शासन चलाए भने गोर्खा पुगेपछि पुनः राजदरवारको सम्मानित पदहरुमा रहन थालेको पाइन्छ । “थापाहरु खस क्षत्री हुन् । एक थरी मगर थापाहरु पनि हुन्छ । कर्णाली प्रदेशमा थापाहरुको अस्तित्व निकै अगाडि देखि पाइन्छ । विशेष गरेर कर्णाली प्रदेशमा खस मल्ल राजाहरुको बलियो राज्य खडा भए पछि लडाकु गुण भएका थापा वंशजहरुले यस राज्यको भारदारीमा सजिलै स्थान पाएको देखिन्छ । कर्णाली प्रदेशका प्रसिद्ध राजा पृथ्वीमल्ल, अभय मल्लहरुका पालाका अभिलेखबाट उक्त कुरा थाहा पाइन्छ । पृथ्वीमल्ल, अभय मल्लहरुले गरिदिएका ताम्रपत्रहरुमा उल्लेखित भारदारहरुमा थापाहरु पनि हामी पाउँछौं । उदाहरणार्थ वि.सं. १४१३ मा पृथ्वी मल्लले गोहलु जोशीलाई गरिदिएको ताम्रपत्र, अभय मल्लको वि.सं. १४४८ को ताम्रपत्र आदिलाई देखाउन सकिन्छ । पृथ्वीमल्लको पालामा कर्णाली प्रदेशमा थापाहरुले ढुङ्गे धारा आदि बनाई जनहितको काम गरेको उदाहरण पनि पाइन्छ । जुम्ला कालिकोट दरामा रहेको एक ढुङ्गेधारामा श्री शाके १२६० ..... श्री पृथ्वी मल्ल देव ..... चिरंजयतु धर्मभद्र थापा सुकृतम्” भन्ने अभिलेख कुँदिएको छ । अभय मल्लपछि कर्णाली प्रदेशको उक्त खस राज्य टुक्रियो र क्रमशः बाइसी राज्य खडा हुन थाले । त्यस बेला पनि थापाहरु भारदारकै रुपमा कायम थिए भन्ने तत्कालिक अभिलेखबाट थाहा पाइन्छ (संहिता श्रेष्ठ, २०४६ः१–२) ।”
बगाले थापाको इतिहास खोज्दै जाँदा अझै माथिसम्म पनि पुग्न सकिन्छ । अध्ययन अनुसन्धानको क्रममा बगाले थापाको उपस्थिति ईशाको पाँचौं शताब्दीसम्म पुगेको पाइन्छ । “ईशाको करिब पाँचौं शताब्दीतिर जुन बेला काठमाडौं उपत्यका मानदेव प्रथम र भारतवर्षमा हर्षबर्धन राज्य गर्दथे, त्यसबेला वर्तमान मध्यपश्चिमाञ्चल क्षेत्रको सुदूर उत्तरमा अवस्थित हुम्ला ताराको मुख्य प्रशासक बगाले थापाहरु नै थिए र तिब्बतका राजाले उनीहरुलाई कर बुझाउने गर्नाले उनीहरु भोटका राजाहरुका अधिपति भएर रहेका थिए भन्ने कुरा मल्ल वंशावलीमा पाइएको छ (थापा, २०५९ः ११–१२) ।” यी ऐतिहासिक प्रमाणित तथ्यहरुबाट बगाले थापाहरु नेपालका प्राचीनतम जातिहरु मध्ये एक हुन भन्ने विषय स्वतः प्रमाणित हुन गएको छ ।

२. बगाले थापाको परिचय:

नेपालका अधिकांश थरहरुको उत्पत्ति कर्णाली प्रश्रवण क्षेत्रका ठाउँहरुबाट भएको पाइन्छ । जस्तो जुम्लाको ‘धिता’ भन्ने ठाउँबाट ‘धिताल’, रुकुमको ‘गोताम’ भन्ने ठाउँबाट ‘गोतामे’, दैलेखको ‘पोखर’ भन्ने ठाउँबाट ‘पोखरेल’ थरको उत्पत्ति भएको पाइन्छ । थापा थर भने गाउँको नामबाट नभई सरकारी सैनिक पदबट उत्पत्ति भएको हो । बाह्रौं शताब्दीको पूर्वार्धमा जुम्ला क्षेत्रमा उदय भएको खस राज्यको सैनिक सेवामा मध्यम दर्जाका सैनिक पदाधिकारीहरुलाई ‘थापा’ भनिन्थ्यो । थापाका साथै खड्का, राना, बुढा पनि त्यस बेलाका सैनिक पदहरु थिए । ती पदहरु पनि अहिले जातमा परिणत भइसकेका छन् ।
“विभिन्न पदाधिकारीहरुको सन्दर्भमा जस्तै अधिकारी र कार्की सँगै थापा, खड्का, राना, बुढा आदि पैकेलाहरुको उल्लेख भएको छ । थापा र खड्काहरुको उल्लेख वीर स्तम्भहरुमा पनि पाइन्छ । लडाईंमा मर्ने योद्धाहरुको स्मृतिमा धार्मिक कार्य गरी स्थापना गरिएका शिलास्तम्भहरुलाई वीरस्तम्भ भनिन्छ । दुल्लु सातखम्बका अभिलेखबाट पनि थापा, खड्का आदि सैनिक पद थिए भन्ने देखिन्छ । त्यहाँको प्रथम स्तम्भलेखमा लेखिएको छ, “ओं स्वस्ति श्री शाके १२५६ (वि.स. १३९१) मासानि १ तीथय ५ नक्षत्रे ३ भिंउ(म) देवको पुत्र यसु थापाको थि(वी) र स्तम्भ ।।” यस सँगैको तेस्रो शिलास्तम्भमा लेखिएको छ, “ओं स्वस्ति श्रिशाके १२५६ भिउ(म) दे (वको) पुत्र धामु खड्गाहको थि (वी) र षंभ ।।”
यसरी एकै वर्ष अर्थात् साके १२५६ मा स्थापना गरिएका वीरस्तम्भमा भीमदेवका दुईभाइ छोराहरु यसु र धामुलाई क्रमशः थापा र खड्गा भनिएको छ । एउटै बाबुका दुईभाइ छोराहरु एउटालाई थापा र अर्कोलाई खड्का भनेर लेखिएकाले थापा र खड्का दर्जाका नाम थिए भन्ने निश्चित हुन्छ । “खड्गा” संस्कृत शब्द खड्गग्राहको संक्षिप्त या अपभ्रंस रुप हो जसको अर्थ खड्ग लिएर युद्ध गर्ने भन्ने हुन्छ । यसैगरी थापा पनि सैनिक दर्जा देखिन्छ किनभने यसुथापा, दासुथापा, राजथापाहरुका नामबाट विरस्तम्भहरुको स्थापना भएको पाइएको छ (अधिकारी, २०५३ः७५) ।”
अहिलेको हकमा प्रष्टाउनु पर्दा कुनै बाबुको दुईवटा छोरामध्ये जेठो छोरा जर्नेल र कान्छा छोरा कर्नेल छ भने त्यही दर्जाले हामीले उनीहरुलाई सम्बोधन गर्दछौं । त्यसैगरी माथि सम्बोधन भएका ‘थापा’ र ‘खड्गा’ पनि त्यसरी नै त्यसबेलाको मर्यादाक्रमअनुसार सम्बोधन गरिएका सैनिक पदहरु थिए ।
थापा थरको उत्पत्तिका सम्बन्धमा केही लेखकहरुले ठाउँठाउँमा राजाको रुपमा स्थापना भएकोले स्थापनाबाट –थापना अनि थापा भएको उल्लेख गरेका छन् । पूर्व कालखण्डमा सानाठुला राजा त बाहुन, ठकुरी, अन्यथरिका जातिहरु, गुरुङ, मगर, राई, लिम्वु पनि भएका छन् । तिनीहरु पनि राजाका रुपमा स्थापित नै भएका हुन, त्यसो भए यिनीहरुलाई पनि थापा भनिनु पर्ने हो । यसरी त नेपालमा राजा भए जति सबै जातथरहरु थापा मात्रै हुनु पर्ने हो । त्यसै गरी कसैले बागलुङ जिल्ला थन्थाप भन्ने ठाउँको नामबाट थापा थर उत्पत्ति भएको दावी गरेका छन् । यी सबै सोधखोज विनाका कल्पनामात्र हुन् भन्ने प्रमाण माथिको विवरणबाट प्रष्ट हुन्छ ।

३. बगालेको परिचय ;

बगाले भन्नाले ८–१० संख्या वा सोभन्दा बढीको जीवित प्राणीहरुको समूहलाई जनाउँछ । निर्जीव वस्तुहरुमा प्रायः बगाल प्रयोग भएको पाइँदैन । यही बगालमा संलग्न रहने सदस्यहरुलाई बगाले भनेर सम्बोधन गरिन्छ । सैनिकहरुको जुन संरचना हुन्छ त्यो पनि सानो देखि ठूलो संख्याको बगाल नै हो । सामान्य नागरिकहरुले बोलचालको भाषामा पहिला सैनिकहरुको समूहलाई बगाल भन्ने गरेको पाइन्छ । थापा थर आफैमा सैनिक पद रहेको र थापाहरुको जीविकोपार्जनको पहिलो रोजाइ सैनिक सेवा नै हुने भएकोले शारीरिक तन्दुरुस्तीले भ्याएसम्म थापाहरु सैनिक सेवामै रमाउने गर्थे र अहिले पनि त्यो क्रम जारी  छ । त्यसैले पुस्ता दरपुस्ता सबै परिवार नै बगाल अर्थात् सेनामा रहने हुँदा यी थापाहरुलाई समाजले बगाले भन्न थाल्यो । बगाले संवोधन हिनताबोधक होइन सम्मानसूचक वीरताको बोधक थियो । थापाहरुले त्यस सम्बोधनलाई समाजले आफ्नो पेशालाई आदर गरेको अर्थमा  बुझे र बगाले संवोधनलाई सहजै स्वीकारे । यसरी थापाका अगाडि बगाले उपथर अर्थात् कैरन जोडिन गयो ।
कसैले बगाले कैरनलाई थापाहरु भारतको बंगालबाट यता आएको हुनाले बंगाले भन्दाभन्दै बगाले भन्न थालिएको हो भन्ने पनि गरेका छन् तर बगाले थापाहरु शुद्धरुपमा कर्णाली प्रदेशका आदिवासी हुन् । बंगालसँग यिनीहरुको गोरु बेचेको साइनो समेत छैन ।

४. कुल परम्परा र वंशावली एक नहुनुको कारण ः

तत्कालीन राजपरिवार र पाँडेहरुको झुठ्ठा र कपटपूर्ण षडयन्त्रका कारण वि.सं. १८९६ मा मूख्तियार भीमसेन थापा र वि.सं. १९०२ मा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको दुःखद अवसान भएको थियो । यी दुईवटा घटनापछि बगाले थापाहरुको बिउ नै मास्ने गरी राज्यबाटै अभियान चलाइएको थियो । त्यस बेला थापाहरु आफ्नो ज्यान बचाउन कहाँ कहाँ पुगे ? अझै सम्म यकिन गर्न सकिएको छैन । यो घटनाको लगत्तै वि.सं. १९०३ मा जंगबहादुर कुँवरले मच्चाएको रक्तरञ्जित कोतपर्वमा बचेखुचेका थापाहरुलाई पुनः निर्ममतापूर्वक काटियो–मारियो । यसरी राज्य, पाँडे र राणाबाट ३–३ पटक सम्म थापाको बिउ नै भुट्ने कालो कर्तुत हुन गएकोले यी थापाहरुले ज्यान बचाउन कति दुःख, कष्ट सहे होलान् अनुमान मात्र गर्न सकिन्छ । ज्यानै बचाउन धौ–धौ भएको बेला कुल परम्परा र वंशावली बचाउने सम्भावना नै थिएन । यही कारणले गर्दा बगाले थापा क्षत्रीहरुको कुलपरम्परा र वंशावली एक हुन नसकेको हो ।

५. बगाले थापा शुद्ध क्षत्री हुन् ः

पौड्याल, अर्याल, मल्ल लगायतका केही अन्य जातका वंशावलीहरुमा बगाले थापाहरुलाई आफ्नो वंशसँग जोडिएको पाइन्छ । पौड्याल वंशावलीमा कालु थापालाई वत्सराज भट्ट (ब्राम्हण)को छोराको रुपमा देखाइएको छ । एउटै व्यक्ति वत्सराजका पाँचभाइ छोराहरुलाई जेठो–सिग्देल, माइलो–शाही ठकुरी, साँइलो–थापा क्षत्री, काँइलो–मल्ल ठकुरी र कान्छो–पौड्याल ब्राम्हणको रुपमा देखाइएको छ । जुन विषय आफैमा तर्क र प्रमाणहिन त छँदै छ हाँसो लाग्ने पनि छ । हिन्दू धर्म र परम्परामा अन्यत्र कहीँ पनि एउटै बाबुका छोरा पाँच प्रकारका भिन्न जातहरु लिएर जन्मेको पाइँदैन र यस्तो हुँदैन पनि । हुन्छ के भने ? ब्राम्हणले क्षत्री स्त्री ल्याई त्यसबाट जायजन्म भएमा त्यस्तो सन्तान ‘खत्री क्षत्री’ हुन्छ, अन्य जातको हुँदैन । बगाले थापाहरु राजा भई सकेका र वीर योद्धाको रुपमा सेनाको उच्च पदमा प्रतिष्ठित भएकाले उनीहरुसँग आफ्नो रगतको साइनो देखाएमा समाजमा मान प्रतिष्ठा बढ्ने र अन्य जातिहरुको आक्रमण र अवहेलनाबाट सुरक्षित रहन सकिने हुँदा बगाले थापासँग वंशावली जोडिएको हुन सक्छ । बगाले थापा क्षत्रीहरु शुद्ध ‘क्षत्री’ हुन, अन्य कुनै जातसँग घिसिएर–मिसिएर आएका होइनन् ।

६. संक्षिप्त परिचय ः

  1. मूल पुरुष ः कालु थापा
  2. उद्गम तथा कुल पितृ तीर्थस्थल ः ताकम, म्याग्दी (जुम्ला–डोटी हुँदै) 
  3. गोत्र ः आत्रेय
  4. कैरन ः         बगाले
  5. जात, थर ः थापा क्षत्री
  6. त्रिप्रवर ः        आत्रेय, आर्चनानसः, श्यावाश्वः
  7. गोत्रस्थल ः सुनीकोट, अत्रिथुम्का (बझाङ)
  8. पुर्खाले राज्य गरेको गाउँ ः डोटी, ताकम, पुला, ज्यामरुककोट र रुकुमकोट
  9. निसान कालिका स्थापित ऐतिहासिक ठाउँहरु ः काँडामालिका (डोटी), केवलपुर (धादिङ)
  10. वेद ः शुक्ल युजुर्वेद
  11. शाखा ः          मन्ध्यान्दिनी
  12. कुल देवता ः शिवजी
  13. कुलदेवी ः        कालिका भवानी (पार्वती, विन्ध्यवासिनी)
  14. इष्ट देवता        गोरक्षनाथ
  15. देवाली पूज्य देवता ः         बराह, बाराही (विष्णु–लक्ष्मी), मष्ट
  16. स्थानीय देवता ः यथास्थान (सिद्ध, झाँक्री आदि)
  17. वंशः         सूर्य
  18. पूजा वस्त्र ः रातो कलेजी 
  19. गोठका देवता ः         गैडु भवानी
  20. कुल निसान ः         सूर्य चन्द्रअंकित ७ वा ४९ मरुत् गण (ताराहरु)                                                                                                 सहित रातो–नीलो–सेतो र आकाशे रङको झण्डा 
  21. घर मन्दिरमा रोप्नु पर्ने विरुवा ः अमला
  22. लिनुपर्ने ब्रत ः         आइतबार

७. कुल निशान ध्वजा पूजा ः

बगाले थापाहरुले विभिन्न महिना र तिथिमा केही बर्ष विराई वा वर्षेनी कुलपूजा     (देवाली) र निसान पूजा गर्ने गर्छन् । कुल पूजामा मुख्यतया शिवजी, कालिका, बराह, बाराही, मष्ट (वायुदेवता) र स्थानीय देवी–देवता सिद्ध, झाँक्री आदिको पूजा गर्ने प्रचलन   छ । पूजा पूर्णरुपमा सात्विक वा बलीसहित गर्न सकिने परम्परा रहेको छ । सात्विक पूजा शुद्ध गाईको दूधमा खिर पकाएर फलफूल सहित कुलपितृलाई अर्पण गरिन्छ भने बली पूजा भेंडा र बोकाको बली दिएर गर्ने गरिन्छ । कालरात्री पूजामा बर्षे दशैंको महाअष्ठमीको राती बली दिने ठाउँबाट देखिने डाँडामा चन्द्रमा आधा यता र आधा उता भएको बेलामा कालिका भवानीलाई बोकाको बली दिने चलन छ । दुवै नवदुर्गामा घटस्थापना (प्रतिपदा) देखि अष्ठमीसम्म विधिपूर्वक कालिका भवानीको पूजा गरी दुर्गा सप्तशती चण्डीपाठ गर्ने र बर्षे दशैंमा महाअष्टमीको कालरात्रीमा र चैते दशैंमा दिउँसो बली चढाउने परम्परा रही आएको छ ।

७. (क) निशान ध्वजा ः

जुन प्रकारले विश्वभरि रहेका विभिन्न राष्ट्रहरुका आ–आफ्ना झण्डाहरु छन त्यही प्रकारले विश्वभरिकै जाति, धर्म र सम्प्रदायलाई चिनाउने आफ्नै प्रकारका झण्डा, ध्वजा, पतका आदि पनि परापूर्व कालदेखि प्रचलनमा छन् । द्वापरयुगमा भएको महाभारत युद्धमा भगवान कृष्णले हा“केको अर्जुन चढ्ने रथमा हनुमानजीको चित्र भएको ‘कपिध्वज’ झण्डा प्रसिद्ध छ । भनिन्छ आपतको बेलामा झण्डामा रहेका हनुमानजीले डरलाग्दो हु“कार गर्दथे, जसबाट कौरव सेनामा भागाभाग हुन्थ्यो । श्रीकृष्णको मार्गदर्शन, सत्यताको अवलम्वन र कपिध्वज हनुमानको सहयोगले पाण्डवहरुले महाभारत यद्धमा कौरव माथि विजय हा“सिल गरेका थिए । यही परम्परालाई अंगिकार गर्दै बगाले थापाहरुले पनि विशेष अर्थ बोकेको निसान झण्डालाई अघि लगाई आफ्ना शुभ कार्यहरु गर्ने गरेको पाइन्छ । 
बगाले थापाको निसान झण्डा कैलेदेखि प्रचलनमा देखियो भन्ने विषयमा प्रवेश गर्दा बगाले थापाका मूल पुरुष कालु थापाको डोटी राज्यको प्रारम्भकालमा वि.सं. १२४६ देखि नै निसान झण्डा प्रयोगमा थियो भन्ने बुझिन्छ । डोटीमा स्थापित कालु थापाको राज्यबाट रुकुम जिल्लाको रुकुमकोट, म्याग्दी जिल्लाका ताकमकोट, पुलाकोट र ज्यामरुकोट राज्यहरु कव्जामा लिन साइत गर्दा उनका छोराहरुले निसान झण्डाको विधिपूर्वक पूजा गरी निसान झण्डालाई अघि लगाई त्यतातिर लगेको पाइन्छ । लडा“ईको यात्रामा आफुले पूज्ने सवै देवी देवता   श्री गणेश, शिवजी, कालिका, कुलपितृ, मष्ट, बराह बराही, हनुमान, छत्रपाल, झांक्री आदिका मूर्तिलाई साथै लिई हिंड्न सम्भव थिएन । त्यसैले बगाले थापाहरुले यी सबै देवी देवताहरुलाई निसान झण्डामा विराजमान हुन आव्हान गरी त्यही झण्डामा स्थापित सवै इष्ट देवी देवताहरु आर्शिवाद दिदैं साक्षीको रुपमा रहेको मानी आफ्नो युद्ध यात्रा शुरु गर्ने गर्दथे । बगाले थापाहरुलाई आशातित सफलता पनि मिलेको थियो । आधुनिककालमा यही परम्परालाई कायम राख्दै बडाकाजी अमरसिंह थापाले नेपाल एकीकरणको पश्चिमी अभियान आरम्भ गरेको पाइन्छ । यही क्रममा बडाकाजी अमरसिंह थापाले वि.सं. १८७३ मा धादिङ जिल्लाको केवलपुरमा निसान थानको स्थापना गरेका थिए । उनले यस्तै निसान थान गोर्खा जिल्लाको फिनाम गा.वि.सको पिपलथोकमा र डोटी जिल्लाको का“डामालिकामा स्थापना गरेका थिए । निसानझण्डामा कुलले पूजेका देवीदेवताहरुलाई आव्हान गरिन्छ तापनि खास गरी युद्धमा विजय दिलाउने युद्ध देवी ‘कालिका’ लाई प्रमुख रुपमा स्थापित गरिन्छ । त्यसैले यस झण्डालाई ‘कालिका कुल निसानझण्डा’ भनिन्छ । त्यसै गरी निसानझण्डा स्थापित गरिएको मन्दिरलाई ‘निसानकालिका मन्दिर’ भन्ने गरिन्छ ।   

(ख) कालिका निसान झण्डाको स्वरुप र महत्व ः

निसान झण्डा ठाउ“ र अवस्था हेरी विभिन्न आकारमा बनाउन सकिन्छ । मन्दिरमा राखी पूजा गर्नको लागि मन्दिर भित्र ठाउ“ अनुसार २ह३ देखि २ह४ फुटसम्मको सालको काठ,  पितल वा अन्य धातुको प्लेटमा झण्डा चित्रांकित गरी मन्दिरको गारोमा टा“सी स्थायीरुपमा राख्नुपर्छ । कपडामा झण्डा बनाई शुभकार्य विशेषमा लिई हिड्दा ३ह३ फुटको झण्डा बनाउनु उपयुक्त हुन्छ । आवश्यकता अनुसार यस भन्दा सानो या ठूलो आकारमा बनाउदा पनि खासै फरक पर्दैन । सम्भव भएसम्म मन्दिर बाहिर निकाल्ने झण्डालाई तामाको डण्डीमा राख्नु वेश हुन्छ । तामाको डण्डीको व्यवस्था हुन नसके अन्य कुनै काठ वा अन्य धातुमा पनि झण्डा राख्न सकिन्छ । 
बगाले थापाको निसान झण्डा चारकुने कपडाको प्रथम भागमा २ से.मी रातो किनारा, दोश्रो भागमा १ से.मी सेतो किनारा, तेश्रो भागमा आकाशे निलो रङ र त्यसमाथि तल देखि माथि ठाडो रुपमा ७ वटा ७ कोण भएका ताराहरु, चौथो भागमा नेपालको झण्डा आकारको दुई तहमा तिनकुने रातो रङ र त्यसमा माथि १२ कोण भएको सूर्य र तल्लो भागमा ८ कोंण भएको चन्द्रमा पुनः रातो सिमाना भएको आकार, प्रकार र रंग संयोजन हुनेछ । झण्डाको सीमाना ९द्ययबचमभच० मा राष्ट्रिय फूल लालीगुराँस राख्नुले राष्ट्रियता र सौन्दर्य झल्काउने छ । झण्डाको मुनिपट्टी निशानकालिकाको निम्न प्रार्थना राख्नु राम्रो हुन्छ । “दुःख, कष्ट सबै गरी देउ हरण । सुख, शान्ति र प्रेम देऊ तिम्रै शरण ।” झण्डाको बनावट यहा“ संलग्न चित्रबाट प्रष्ट हुनेछ । 
झण्डामा रहेको रातो रङले जीवनको निरन्तरता, सुन्दरता, प्रेम र वीरताको संकेत गर्दछ भने आकाशे निलो रङले सत्यलाई इङ्गीत गर्छ , त्यसैगरी सेतो रङले शान्तिलाई संकेत गर्दछ । झण्डामा सूर्य माथि रहनुको कारण बगाले थापाहरु सूर्यवंशी भएकोले हाम्रो वंश सधैं माथी छ भन्ने संकेत गरिएको हो । सूर्यमा १२ वटा कोंणहरु रहनु प्रत्येक वर्ष सूर्य १२ राशीहरुमा घुम्ने र सूर्यलाई पूजा गर्ने १२ विशेष नामहरु भएकोले हो । झण्डामा रहेको सूर्यको पूजा गर्दा पूर्णरुपले विधि विधानका साथ पूजा होस भन्ने उद्देश्यले वैदिक विधान अनुसार उक्त चित्राङ्कन गरिएको हो । सूर्य एक वर्षमा घुम्ने १२ राशीहरु मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन हुन भने यिनका स्वामीहरु नौं ग्रहहरु हुन् । यी कोंणहरुको पूजा गर्दा सवै व्यक्तिका सबै राशी र सवै ग्रहहरुको पूजा हुने गर्दछ । ग्रहहरुले मान्छेको जीवनमा प्रत्येक पल प्रभाव पारी रहेका हुन्छन् । शुभ ग्रहहरुले शुभ फल दिई रहेकै हुन्छन् भने अनिष्ट ग्रहहरुले पनि पूजाआजा गरेमा शुभ फल नै दिने हुन्छन् र कुनै पनि शुभ कार्यमा अभिष्ट फल मिल्छ भन्ने विश्वासले ग्रह पूजा गरिन्छ । 
सूर्यलाई पुजा गर्ने सहस्र नामहरु छन् ता पनि विशेष रुपमा पूजा गर्ने १२ नामहरु प्रचलित छन् । १. ॐ मित्राय नमः २. ॐ रवये नमः ३. ॐ सूर्याय नमः ४. ॐ भानवे नमः ५. ॐ खगाय नमः ६. ॐ पुष्णे नमः ७. ॐ हिरण्यगर्भाय नमः ८. ॐ मरिचये नमः ९.ॐ आदित्याय नमः १०. ॐ सवित्रे नमः ११. ॐ अर्घाय नमः १२. ॐ भास्कराय नमः
त्यसै गरी चन्द्रमाका १६ कलाका १६ नामहरु छन् । झण्डामा पूर्णचन्द्रमा नभएर अर्ध चन्द्रमा छन् । यसको अर्थ निरन्तर वृद्धि अर्थात उत्तरोत्तर प्रगति हो । चन्द्रमा पूर्ण भए पछि फेरि घट्दै जान्छन् । त्यसैले घट्ने चन्द्रमा नराखेर बढ्दै गरेका चन्द्रमालाई झण्डामा राखिएको हो । औंशी पछि आठौं दिन अर्थात आठौं कलाको संकेत स्वरुप चन्द्रमाका ८ कोंणहरु देखाइएको हो । ती चन्द्रमालाई पूजा गर्ने विशेष नामहरु निम्न प्रकारका रहेका  छन् । १. ॐ हिमाशंवे नमः २. ॐ सोमाय नमः ३. ॐ चन्द्रमसे नमः ४. ॐ कुमुद वन्धवे नमः ५. ॐ औषधीशाय नमः ६. ॐ कलानिधये नमः ७. ॐ नक्षत्रानाथायै नमः ८. ॐ रोहिणी बल्लभाय नमः 
निसान झण्डाको अग्रभागमा ७ वटा कोंण भएका ताराहरु हाम्रा कुलपितृहरु, सप्तऋषि, गोत्र र मष्ट     (वायु) का प्रतीकहरु हुन् । हाम्रो स्वर्गिय माृत–पितृहरु वायु रुपमा रहन्छन् भन्ने हिन्दू मान्यता छ । वायुहरु ४९ छन् । ४९ को पहिलो गुणक संख्या ७ हो । त्यसैले ४९ वायुको प्रतीक स्वरुप ७ वटा ताराहरु राखिएको हो । ७ अङ्क आफैमा अत्यन्त शुभ अङ्क पनि हो । सबैमा सर्वत्र शुभलाभ होस् भन्ने पनि यसको अर्थ हो । ७ अङ्कले हिन्दूहरुका अराध्य सप्तऋषिहरुलाई पनि संकेत गर्दछ । निसान झण्डाको नमुना यसैसाथ संलग्न छ ।

(ग) निसान झण्डाको पूजा ः

निसान झण्डालाई फ्रेममा राखी आफ्नो निवासमा नित्य पूजा गर्नु हाम्रो कर्तव्य हो । नित्य पूजा गर्न नसके प्रत्येक आइतवार पूजा गरे राम्रो हुन्छ । शुभकार्यहरु ब्रतवन्ध, विवाह, पूजाआजाका साइतमा संम्झनु पनि राम्रो हो । कुलपूजामा भने अनिवार्य रुपमा निसान झण्डाको पूजा गर्नु पर्दछ । फूलपाती, अक्षता, नैवेद्य , धुपवत्ति आदिले वैदिक विधिपूर्वक चण्डीपाठ सहित पूजा गर्नु पर्छ । चण्डीपाठ गर्ने अनुकूलता नभएमा माथिका सूर्य, चन्द्रको नाम जप सहित “हे आमा कालिका हामी तिम्रो शरणमा छौ”ं भन्दै “ॐ नमः कालिकाय” मन्त्रले यथासम्भव पूजा गर्नु राम्रो हुन्छ । मुख्यरुपमा बुझ्नुपर्ने तथ्य भगवान विधिविधान भन्दा श्रद्धा र प्रेमको भोको हुनु हुन्छ भन्ने हो ।  

आज भोली कुल पूजा गर्दा बोका, भेडाको बली दिने वा नदिने भन्नेमा भाइ–भाइमा विवाद हुन थालेको छ । पशु बलिको समर्थनमा बोल्नेहरुले परम्परा देखिनै चल्दै आएको चलन छोड्नु हुदैन, बोका र भेंडाको जन्म बलि पूजाकै लागि हो, पशुबलि नदिई कुनै  कुलपितृहरु खुशी हुदैनन् भन्ने भनाई राख्छन् भने पशु बलिको बिरोधमा बोल्नेहरुले स्वर्गीय पितृहरुलाई पशुवली दिनुहुदैन, पशु हिंसा राम्रो होइन, पशुहरु पनि चराचर जगतकी माता कालिकाकै सन्तान हुन्, आफ्नै सन्तानको बली दिएर आम कसरी खुशी हुन्छिन् ? भन्ने तर्क गर्छन । केही हदसम्म दुवैका भनाई ठिकै लाग्छन् । जे होस तत्काल दुवै तर्फका भनाईहरु पूर्णरुपमा लागु हुन सक्ने अवस्था छैन । तसर्थ दुवै थरीले एउटै थलोमा आ–आफ्ना आस्था अनुसार पशुबली र खीर पायस बली दिएमा हालको समस्या समाधान हुन सक्छ । अर्कोतर्फ निसान थानमा पशुबली दिन हुन्छ कि हुंदैन भन्ने पनि प्रश्न उठेको पाइन्छ । निसान थानमा रहने निसान झण्डा नै हो । आआफ्नो आस्थाको झण्डा मुनी कालो बोकाको बली दिने चलन हिन्दू शासकहरुले परम्परा देखि नै चलाउदै आएको पाइन्छ । हिन्दू धर्ममा शक्तिकी प्रतीक भनेकी ‘कालिका देवी’ नै हुन् । बिन्धवासिनी, चण्डिका, बगलामुखी, दुर्गाभवानी, छिन्नमस्ता, आदि जे नामले पुकारिए पनि सवै आदिशक्ति कालिका भवानीकै विभिन्न नाम र रुपहरु हुन् । यी विभिन्न नामधारी शक्तिको पूजा निसान झण्डाको रुपमा पनि गर्ने चलन नेपालमा मात्र नभएर हिन्दू धर्मवालम्विहरु रहेको सवै ठाउ“हरुमा छ । यस्तो बलिपूजा, निसान झण्डामा शक्ति स्वरुप कालिका भवानीको वास छ, उनको पूजा आराधना गरेमा मुख्य रुपमा शक्ति र त्यसपछि शान्ति, सुस्वास्थ्य, र सफलता सधैं प्राप्त हुन्छ भन्ने अर्थमा निसान झण्डा पूज्ने गरिन्छ । 

निसान कालिकाको मन्दिर सवै दाजुभाईलाई पायक पर्ने स्वच्छ र पवित्र ठाउंमा बनाउनु पर्छ । ठांउ र अवस्था हेरी मन्दिर सानो वा ठूलो बनाउन सकिन्छ । मन्दिरको ढोका पूर्व वा उत्तर तर्फ राख्नु उपयुक्त हुन्छ । दुइ छाने मन्दिर आर्कषक र सुन्दर देखिन्छ । निसान कालिका मन्दिरमा बगाले थापा क्षत्री बाहेक अन्य जातजातिलाई प्रवेश दिनुहुदैन भन्ने परम्परा छ । बगाले थापाको उद्गम थलो ताकम धारापानीमा थापाहरुले सवै पूजाआजा आफै गर्ने गर्छन । त्यसैगरी बगाले थापाको सवैभन्दा ठूलो बस्ती रहेको बागलुङ जिल्लाको गलकोट मल्ममा पनि सम्पूर्ण पूजा आजा आफै थापा बन्धुहरुले गर्ने गरेको  पाइन्छ । बगाले थापाहरुमा देश भित्र र वाहिरका बस्तिहरुमा पनि प्राय आफ्नो कुलपूजा आफैले मात्र गर्दै आएको पाइन्छ । अन्य जातिबाट पूजाआजा गराउ“दा आफ्नो कुलवंशको भित्री महत्व र मर्म बाहिर जाने, त्यही गोपनियतालाई लिएर बेलाबखत मोलतोल हुने सक्ने, अन्य जातकालाई बगाले थापाका कुलपितृ प्रति कुनै आस्था विश्वास हुन नसक्ने, पूजारीले आर्थिक प्रलोभनबाट मात्र काम गर्ने जस्ता विविध कारणहरुले गर्दा बगाले थापा बन्धुहरुले आफ्नो कुलपूजा आफैले गर्न थालेको बुझ्न कठिन छैन । जुन प्रयास सह्रानिय र अनुकरणिय छ । 

निसान कालिका मन्दिर निर्माण गरी सकेपछि कुलपूजा (देवाली) सम्वन्धि सवै सामग्री मन्दिरमै राख्नु उपयुक्त हुन्छ । कुल पूजा गर्दा आफ्नो कुल परम्परा अनुसार केही दिन अघि देखि निसान घर स्वच्छ, पवित्र बनाई गर्नुपर्ने बिधिबिधान पुरा गर्नुपर्छ । कुलपूजाको अघिल्लो दिन देखि निसान घरमा अखण्ड बत्ती बाली कुलपितृको पूजा आराधना र सतत् स्मरण गर्नुपर्छ । सवै कर्ताहरुले धुपबत्ति गर्ने, पूजा गर्ने, मेडाबली मन्साउने, घण्टा, धजा आदि चढाउने, धामीहरु काम्ने आदि सवै कार्यहरु निसान घरमै हुने गर्छ । कुलपूजाको विहान सवेरै मूल बत्ति र मूल झण्डा निसान घरमै राखी सहायक बत्ती र सहायक झण्डा लिई बलि पूजागर्ने स्थान गवारो तर्फ लाग्नु पर्छ । गवारोमा जा“दा बाजागाजा, शंख, घण्ट, नाच्ने गाउने, काम्ने आदि कार्य हुने गर्छ । गवारोको कार्य समापन भए पछि पुनः निसान घरमा आई सवै सामग्री त्यही थन्काई निसान कालिका संग आर्शिवाद मागी पूजा विर्सजन गर्नुपर्छ ।

८. बगाले थापाको राजकाज ः

आफ्ना बाबुसमेतको सहयोग र सल्लाहमा सबै भाइ मिलेर वि.सं. १२४६ को आसपासमा म्याग्दी जिल्लाको ताकम, पुला, ज्यामरुककोट र रुकुमकोटका राज्यहरु आफ्नो कब्जामा लिएको पाइन्छ । त्यसभन्दा अगाडि त्यस क्षेत्रमा मगर रजौटाहरुको शासन थियो भनिन्छ तर ठोस प्रमाण अभावमा यसै हो भनेर भन्न सकिन्न । राज्यकालको प्रारम्भमा थापा राजाहरुले ताकमलाई राजधानी बनाई राज्य गरेको बुझिन्छ । त्यसपछि क्रमशः चारै भाइहरुले राज्यको विभाजन गरेको आभास पाइन्छ । यसरी राज्य विभाजन गर्दा जेठालाई पुला (म्याग्दी), माइलालाई ताकम (म्याग्दी), साँइलालाई रुकुमकोट (रुकुम) र कान्छालाई ज्यामरुककोट (म्याग्दी)का राज्यहरु भागवण्डामा परेका थिए । वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म करिब तीन शताब्द िकायम रहेका यी राज्यहरुमा थापा वंशका ७ पुस्ताले राज्य गरेका थिए । थापाहरुको संयुक्त राज्यलाई ४ हजार पर्वतको नामले चिनिन्थ्यो । थापा राज्यकालबाटै यस क्षेत्रलाई “४ हजार पर्वत” भन्न शुरु गरिएबाट ‘पर्वत’ राज्यको नामाकरण विक्रमको तेहौं शताब्दीको मध्यतिरबाट भएको मान्नु पर्ने हुन्छ । “समालवंशी मल्ल ठकुरीको पर्वत नामको राज्य स्थापना हनुपूर्व धौलागिरि हिमश्रृङ्खलाको काखमा पूर्वमा कालीगण्डकी, पश्चिममा ढोरपाटन र दक्षिणमा गलकोटसम्म फैलिएको भूभागमा ४००० पर्वत भनेर चिनिने आत्रेयगोत्री बगाले थापाहरुको स्वतन्त्र राज्य रहेको थियो (बानियाँ, २०६२ः५७) ।”  त्यतिबेला आफ्नो राज्यको अगाडि घरधुरी संख्या उल्लेख गरिने गरिएको पाइन्छ । थापा राज्यको पाला “४ हजार पर्वत” बाट शुरु भएको पर्वतको घरधुरी संख्या मल्ल राजाहरुका पालामा “८ हजार पर्वत, १६ हजार पर्वत हुँदै २० हजार पर्वत” सम्म पुगेको पाइन्छ । विभिन्न राज्यहरु जित्दै जाँदा यो संख्या पनि स्वतः बढ्दै जान्थ्यो । केही वर्ष अघिसम्म बागलुङको गलकोट, निसिभुजी र गुल्मीको पौंदी भेगमा विदेशबाट लाहुरेहरुले चिठीपत्रहरु पठाउँदा पत्र पाउनेको गाउँ, नाउँ र जिल्ला लेखी सकेपछि अन्तमा ‘४ हजार’ पर्वत भनेरे लेख्ने गरेको पाइन्छ । मल्ल कालमा क्रमशः ‘२० हजार पर्वत’ सम्म उल्लेख भए पनि त्यस क्षेत्रमा अहिलेसम्म “४ हजार पर्वत” मात्र लेखिने गरिनाले त्यो “४ हजार” पर्वत थापा राज्यकालबाटै शुरु भएको र ती क्षेत्रहरु त्यसबेला थापा राज्यकै अंग रहेको रहेछ भन्ने बुझ्नु पर्ने हुन्छ ।
थापाहरुको राज्य हिमाल, पहाड र पर्वतले परिवेष्ठित थियो । अर्नाकोट, जलजला, सोले, ताकमकोट, गाजने, ज्यामरुककोट आदि उच्च पर्वतहरुले घेरिएको यस क्षेत्रलाई ‘पर्वत’ को नाउँ दिनु उचित नै थियो र नाउँ पनि त्यही अनुसार नै रह्यो । पछि मल्ल राजाहरुका पालामा पर्वत राज्यको सिमाना मुस्ताङ, कास्की र गुल्मीसँग ठोकिन पुग्दा पनि यो विस्तारित राज्यको नाम पर्वत नै कायम रहयो । अहिलेको पर्वत जिल्ला उस बेलाको पर्वत राज्यको सानो अंश मात्र हो । 
विक्रमको तेह्रौं शताब्दीको मध्यतिर स्थापित थापा राज्यहरु मध्ये ताकमकोट सबैभन्दा शक्तिशाली थियो । ताकमकोटको पश्चिम र उत्तरतिरको सीमाना रुकुम डोल्पासम्म पुगेको थियो । यातायात र सञ्चारको कुनै साधन नभएको त्यस बेलाको विकट अवस्थामा सुदूर क्षेत्रका गाउँहरुमा राज्यको निरन्तर दृष्टि पुग्न कठिन थियो । यही कारणले नै विशाल नेपाल राज्य टुक्रिएर बाइसे र चौबीसेमा परिणत हुन गएको थियो । पहाडका टुप्पामा जंगलको बीचमा ताकमकोटलाई बर्षे र तलको ताकम गाउँ (किमचौर)लाई हिउँदे राजधानी बनाएर बसेको थापा राज्यलाई आफ्नो पश्चिमोत्तर तर्फको सीमाना बचाई   राख्न कठिन थियो । बागलुङ जिल्लाको निसीभुजी क्षेत्रमा त्यसबेला भुजेल, मगरहरुको बोलवाला रहेको थियो । खास गरी बोवाङ, अधिकारीचौर, निसी, बुर्तिवाङमा भुजेलहरु स्थानीय सामन्तका रुपमा प्रतिष्ठित थिए । भुजेल, मगर, छन्तेल र कामीहरुको बढी बसोबास भएको त्यस क्षेत्रमा भुजेलहरुलाई पन्छाएर थापाहरुलाई राज्य गर्न निकै कठिन थियो । थापाहरुले भुजेलहरुलाई ढोरपाटन र निसेलढोरका चरिचरन, सोलेपारी, तमान–लाम्मेला, खुङखानीदेखि रुकुमको सीमाना भलकोटसम्मको रैतानको रेखदेख गर्ने, तिरोभरो उठाई केही सिर्तो ताकम राज्यलाई बुझाउने र बाँकी आफै राख्ने गरी महत्वपूर्ण जिम्मेवारी दिएका थिए । यसरी निसीभुजीको सबै हालीमुहाली आफ्नै भए पनि भुजेलहरुले बेलाबेलामा अनेक बखेडा झिकेर थापाहरुलाई दुःख दिई रहन्थे । थापाहरुले अलि बढी कडाई गर्न थालेपछि भुजेलहरुले थापा राज्यबाट अलग नै हुने निधो गरेर गोप्य षडयन्त्र गर्न थाले । थापाहरु पनि जनताको भावना प्रति सचेत थिएनन् । ढोरपाटन क्षेत्रको विशाल चरिचरनमा आफ्ना वस्तुभाउ मात्र चराउने, अब्बल खालका बुकीहरु आफुले मात्र भोग चलन गर्ने, झाराबेठी कडाइका साथ लिने, जनताको उजुरबाजुर गम्भिरतापूर्वक नसुन्ने आदि कारणले गर्दा निसीभुजीका भुजेलहरुले त्यस क्षेत्रका मुख्य मुख्य व्यक्तिलाई थापाहरुको विरुद्ध संगठित गरी सकेका थिए । थापा राजाहरुको गुप्तचर संयन्त्र पनि कमजोर थियो, आफू विरुद्ध भएको षडयन्त्रको सुईको उनीहरुले समयमै थाहा पाउन पनि सकेनन् । 
अन्ततः भुजेलहरुले नयाँ राजा खोज्ने निधो गरी निसीभुजीको सीमानामै रहेको रुकुमकोट राज्यबाट राजा ल्याउने निधो गरे । रुकुममा त्यसबेला समालवंशी पिताम्वर बममो राज्य थियो। भुजेलहरुले उनीहरुसँग उनका छोरालाई राजाको रुपमा माग्दा पिताम्बरवमले आफ्नो माइलो छोरा आनन्दवमलाई भुजेलहरुसँग पठाईदिए । वि.सं. १४९३ मा यसरी ल्याइएका आनन्दवम (आनम्म)लाई बगाले थापाको ४००० पर्वतबाट छुट्याई निसीभुजीलाई छुट्टै स्वतन्त्र राज्य बनाई त्यसको राजधानी अर्नाकोटलाई बनाइयो । ऐले यो अर्नाकोट बागलुङ जिल्लाको बुर्तिवाङ गा.वि.स. अन्तर्गत पर्दछ । अब सोलपारीको सम्पूर्ण निसीभुजी क्षेत्र आनम्मको राज्य बन्न गयो । ताकमकोटमा रहेका थापा राजाहरुलाई आफ्नो राज्य चुँडीएको पत्तै भएन । आनम्मका छोरा चन्द्रबम (चन्द्रम्म) भए । यिनका छोरा डिम्बबम शक्तिशाली भएर निक्ले । ताकमका टाकुरामा बसेका सौखिन थापा राजाहरुको राजनैतिक र सैनिक स्थिति यिनले बुझी सकेका थिए । थापा दरबारका भुजेल, छन्तेल, मगर आदि जातिका भाइभारदारहरु राज्यबाट असन्तुष्ट छन् भन्ने यिनले चाल पाई सकेका थिए । यही असन्तोषबाट फाइदा उठाई आफ्ना हजुरवुवा आनम्म निसीभुजीको राजा भएको पनि यिनलाई थाहा नहुने कुरै भएन । फेरि जुन निसेल भुजेल सरदारहरुले थापा राज्यबाट निसीभुजी छुट्टाएका थिए, ताकम राज्यका भाइ भारदारहरु पनि तिनैका नातापाता–वंशज नै थिए । जसबाट डिम्वबमलाई ताकम राज्यको भित्री सूचना लिन कुनै कठिनाई भएन । थापा राज्यमा गैर थापा मध्यका प्रभावशाली भारदारहरुमा रन्के मगर र जैचन छन्तेल प्रमुख  थिए । यिनी भारदार र डिम्वबमको बीचमा थापा राज्य कब्जा गर्ने विषयमा विभिन्न माध्यमहरुबाट भेटघाट र कुराकानी भई रहेको थियो । जैचन र रन्केले आक्रमण गर्ने उचित मौका मिल्नासाथ डिम्बबमलाई खबर गर्ने र डिम्बबमले आक्रमणबाट थापा राज्य कब्जा लिए पछि जैचन र रन्केलाई पदोन्नती दिने र उनका दर सन्तानलाई दरबारमा जागिर दिने प्रलोभन डिम्वबमले दिएका थिए । मौकाको खोजीमा रहेका डिम्वबमलाई धेरै दिन पर्खनु परेन । थापा राजाहरु इमान्दार र बहादुर त थिए तर चाहिनेभन्दा बढी सौखिन पनि थिए । बेलाबेलामा भोज भतेर, सिकार, घोडदौड, नाचगान, जुवातास आदि मनोरन्जनमा राजाहरु रम्ने गर्थे । परम्परा अनुसार कुलपूजा थानीमण्डलीको पुजा, दशैं, तिहार, तीज, साउने सक्रान्ति, माघे सक्रान्ति, औंसी, पूर्णिमा, हरेलो, मुठी, न्वागी आदि चाडपर्वलाई पनि सजधजका साथ मनाउँनै पथ्र्यो । धानकोदो भित्र्याइसकेपछि प्रत्येक मंसिर महिनामा ताकमको पुछार म्याग्दी खोलामाथिको ढिकमा रहेको बाख्रीचौरमा थापा राजाहरुले धान्य पूर्णिमामा कुल, थानी मण्डली, गौडी देवता आदिको पूजा गरी विशेष पर्व मनाउने गर्दथे । खेत–खला र गोठमा बोका, भेंडा, कुखुराको बली दिने गरिन्थ्यो । बाजागाजा, नाचगान सहित हर्षोल्लासका साथ मनाइने यस पर्वमा राज्यका प्रायः गन्यमान्य र सर्वसाधारण सबैको उपस्थिति हुने गर्दथ्यो । खानपिन त हुने नै भयो । थापा राजपरिवार थोरै मात्र सैनिक परिवार ताकमकोट छोडेर आफूहरु बाख्रीचौर झरेका थिए । त्यसबेला सैनिकहरु आ–आफ्नो घरमै बस्थे र उनीहरुलाई आवश्यक परेको बेला मात्र नगरा लगाएर, हक हालेर वा बन्दुक पड्काएर बोलाउने गरिन्थ्यो । त्यसैले आपतकालिन अवस्थामा सैनिक जम्मा गर्न कठिन थियो । जैचन छन्तेल र रन्के मगरबाट सबै सूचना पाएका डिम्मबमले एक दुई दिन अघि देखि नै ताकमकोट दरबारलाई घेरा हालिसकेका थिए । उनी केवल आक्रमणको संकेतको प्रतिक्षामा थिए । थापा राजाहरु बाख्रीचौरमा मस्त रहेको मौका छोपी ताकमकोट दरबारमा रहेका जैचन छन्तेल र रन्के मगरले पहिला देखि नै अराइ सिकाइ राखेका उनीहरुका विश्वासपात्र षडयन्त्रकारीहरुले थापा दरबार कब्जा गर्ने यही सही मौका हो भन्ने संकेत स्वरुप ताकमकोटको चुचुरोबाट डिम्बबमका सैनिकहरुलाई हरियो झण्डा देखाइदिए । डिम्वबमले आफ्ना सैनिक सहित ताकमकोट दरबारमा प्रवेश गरी थापा राजाको राजगद्दी कब्जा गरे । थापा सैनिकहरु निम्नसंख्यामा रहेकोले उनीहरुले कुनै प्रतिरोध गर्न सकेनन् । डिम्बबमले राज्य कब्जा गर्नासाथ बाजा बजाएर र बन्दुक पड्काएर हर्ष बढाई गरे । विजयी फौजले थापा दरबारमा आफ्नो रातो झण्डा फहराई सकेका थिए । थापा राजाहरुलाई आफ्नो राज्य शत्रु पक्षले कब्जा गरेको पत्ता लगाउन बेर लागेन । ताकमकोट दरबारबाट बाख्रीचौर ६, ७ किलोमिटर ठाडै ओरालो पूर्व उत्तरतिर पर्छ । थापा राजाहरु डिम्बबमको फौजमाथि प्रत्याक्रमण गर्न त्यति उकालो चढेर माथि जानु पर्दथ्यो जुनकुुरा विल्कुलै सम्भव थिएन । अब थापा राजाहरुसँग त्यहाँबाट पछुतो बोकेर पलायन हुनु बाहेक अर्को विकल्प केही थिएन । 
थापा राजाहरु आफ्नो दलबलसहित बाख्रीचौरबाट पलायित भएर हाल म्याग्दी जिल्लाको देवीथानमा पर्ने थापाचौरमा गई बसे । थापाहरु आम्नेसाम्ने लडाइमा डिम्बसँग हारेका थिएनन् । उनीहरुसँग अझै पनि बलियो जनसमर्थन थियो । पछि शक्ति आर्जन गरेर थापाहरुले पुनः आफ्नो राज्य फिर्ता लिन सक्ने अनुमान गरेर डिम्बबमले थापाहरुसित सम्झौता गर्ने रणनीति अपनाए । “.... वि.सं. १५४५ तिर डिम्बले ताकममा हमला गरे । मगरको मद्धत नपाउँदा थापा एक्ला परे । डिम्बले सजिलैसँग ताकम हात पारे । थापाहरु ताकुम छाडेर पूर्वतिर लाग्न आँटे । उनीहरुले रिसाएर ताकुम छाडे भने उनका दाजुभाइ पुला, ज्यामरुक र राखु समेतलाई उठाएर हमला गर्न सक्थे । यसै कुराको विचार गरी राजनीतिज्ञ डिम्बले थापालाई “रजाइ हाम्रो, कजाइ तिम्रो” भनेर फकाए (मल्ल, २०२८ः४५) ।” थापा पक्ष र डिम्ब पक्षबीच लामो छलफलपछि तीनबुँदे सम्झौता भयो । 
१) मल्लहरु राजा हुने र थापाहरु काजी हुने,
२) थापा र मल्लहरुले पूज्दै आएका शिवलिङ्ग र कलङ्की दुवैले समान आस्थाका साथ पूजा गर्ने,
३) दुवै पक्षले एक अर्कामाथि विश्वासघात नगर्ने । कुनै समस्या उब्जेमा फड्के सांक्षी रोहवरमा बसेका व्यक्तिहरुको निर्णय दुवै पक्षलाई मान्य हुने,
यो सम्झौता गर्न गराउन स्थानीयबासी पौडेल, सुवेदी, कार्की, छन्तेल, भुजेल, मगर, दमै, कामी सबै जातथरले महत्वपूर्ण भूमिका निभाएको पाइन्छ ।
सम्झौता त भयो तर सबै थापाहरुले यस सम्झौतालाई स्वीकार गरेनन् । आफूले हारिसकेको राज्यमा विजयी राजाको काजी भएर बस्नु नामर्दी हो त्यसो गर्नुभन्दा नयाँ गन्तव्यतिर लाग्नु राजोचित बहादुरी हुन्छ भन्ने एकथरी थापाको भनाइ रह्यो भने अर्कोथरी थापाको अनिश्चित भविष्यको लागि भौंतारिनुभन्दा भाग्यको खेल सम्झेर नयाँ भूमिकालाई स्वीकार्नु उचित हुन्छ भन्ने भनाइ रह्यो । छलफल हुँदै जाँदा नयाँ राजाको आधिपत्य नस्वीकार्ने, नयाँ गन्तव्यतिर लाग्ने पक्षमा थापाहरुको बहुमत देखियो । यसरी ताकमलाई माया मारेर नयाँ गन्तब्यको लागि हिँडेका बगाले थापाहरु हाल नेपालभरी छरिएर रहेका  छन् ।
ताकमकोट कब्जा हुनासाथ थापाहरुको पुलाकोट र ज्यामरुककोट राज्यहरु पनि डिम्बका राज्यमा विलय भए । यहाँका पनि अधिकांश थापाहरु आफ्नो जन्मस्थान छाडेर परदेशी हुन गए । बडाकाजी अमरसिंह थापा, मूख्तियार र कमाण्डर–इन–चिफ भीमसेन थापा, नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापा ज्यामरुककोटका पहिला राजा धर्मराज थापाका वंशज हुन् ।

९. उपसंहार ः

कालु थापाका ४ भाइ छोराहरुले वावुसँग मिलेर आफ्नो बाहुबलले र बुद्धिले ४ वटा छुट्टाछुट्टै राज्य खडा गरेका थिए । जेठालाई पुला(म्याग्दी), माइलालाई ताकम(म्याग्दी), साइलालाई रुकुमकोट र कान्छालाई ज्यामरुककोट(म्याग्दी) राज्य भागवण्डामा परेका थिए । राज्यलक्ष्मी असाध्यै चञ्चल हुन्छिन् । थापाहरु यसका अपवाद हुने कुरै थिएन । थापाहरुको राजकाज वि.सं. १२४६ देखि वि.सं. १५४५ सम्म करिब ३ शताब्दी २९९ वर्ष सम्म चल्यो ।
नेपालको एकीकरणको अभियानमा अग्रणी भूमिका निभाउने महायोद्धा वीर बडाकाजी अमरसिंह थापा, फिरङ्गीको बक्रदृष्टिबाट मातृभूमिलाई बचाउने मूख्तियार भीमसेन थापा र इमान्दारीका प्रतिमूर्ति नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको पुख्र्यौली थलो म्याग्दी जिल्लाको यही पृष्ठभूमि हो । मातृभूमिको अस्मिता जोगाउन आफ्नो रगत र पसिना बगाएको यो वंशको खोजखबर राज्यले त गरेन नै बगाले थापाका कर्णाधारहरु पनि आफ्नो इतिहास खोज्न पछि नै परेका छन् । आफ्नो वंशको इतिहास नजान्ने र नबुझ्नेहरुको अस्तित्व कालान्तरमा आफै मेटिएर जान बेर लाग्दैन । यस धर्तीमा जन्म लिएर बाँचेर मात्र मर्ने हो कि मरेपछि पनि बाँच्ने हो हामीले सोच्नु पर्ने यत्ति नै हो ।

लेखक भीमबहादुर थापा                                   लेखन सहयोगी लक्ष्मण थापा

९८५७६२४११४                                                                           ९८४७६२३४९३

सन्दर्भ सामग्री ः

बानियाँ, चन्द्रप्रकाश, २०६२, ऐतिहासिक पर्वत राज्य, म्याग्दी पुस्तकालय, बेनीबजार ।
बानियाँ, कर्णबहादुर, २०७०, नेपालको इतिहासमा उजिरसिंह थापाको योगदान, धवल पुस्तकालय तानसेन पाल्पा ।
श्रेष्ठ, संहिता, २०४६, माथवरसिंह थापा, त्रि.वि. कीर्तिपुर ।
योगी, नरहरिनाथ, २०१२, इतिहास प्रकाश, अंक १, इतिहास प्रकाश मण्डल, काठमाडौं ।
अधिकारी, डा. सूर्यमणि, २०५३, त्रि.वि. नेपाल र एशियाली अनुसन्धान केन्द्र, काठमाडौं ।
मल्ल, मोहनबहादुर, २०२८, ‘प्राचीन नेपाल’ पुरातत्व विभागको मुखपत्र, काठमाडौं ।

(२०७१ भदौ २१ गते म्याग्दी बेनी, बगरफाँटमा सम्पन्न बगाले थापा क्षत्री समाज धौलागिरीको चौथो साधारण सभा, दोस्रो अधिवेशनमा पेश गरिएको ‘बगाले थापाको ऐतिहासिक रुपरेखा’को सारसंक्षेप)

25 comments:

  1. Ramro raicha, hamro history

    ReplyDelete
  2. Investigative reporting. Thank you for your time and sharing.

    ReplyDelete
  3. Investigative reporting. Thank you for your time and sharing.

    ReplyDelete
  4. Gorkha tathaa lamjung maa pani haamro pusthaa paaincha.. yesmaa kunai itihaas cha ki ???
    from kamal singh thapa

    ReplyDelete
  5. Keep pu the good research. Roshan Thapa

    ReplyDelete
  6. We have big bajale thapa family at dhading too .

    ReplyDelete
  7. Yahako mathiko cover photo ko tyo 3rd ra 4th person ko hun?? Bhimsen paxiko duita photo kasko ho?? Kasailai thaha xa.

    ReplyDelete
  8. Very much useful and informative article to understand history of Bagale Thapa. Thank you researcher and team members for sharing.

    ReplyDelete
  9. Thank you all for your research - it was nice to know our roots.

    ReplyDelete
  10. Yo sanskriti parampara raw bagale thapa ko nissan yugau yug sama rahi rahos.

    ReplyDelete
  11. Bagale thapako historymai thulo naam ra balidan xa mah bagale thapa hunuma malai dherae dherae garva xa.Jaya Nepal ❤

    ReplyDelete
  12. Bagale thapa ko history thaha payar malae thulo garabha lageko cha thank you

    ReplyDelete
  13. I feel very proud to be bagal thapa.....

    ReplyDelete
  14. We are the boss 🗡🗡🗡🗡

    ReplyDelete
  15. Nisan jhanda ko pic banai share garnu paryo

    ReplyDelete
  16. Daju vai haru 1 hunu parcha 😊
    We r at gulmi.

    ReplyDelete
  17. Thanks alot for your research and information Brothers

    ReplyDelete