Saturday 31 December 2016

चित्तरञ्जनसँग 'भीमसेन' संवाद

अन्नपूर्ण शनिवार, असोज १५, २०७३ 

२०१३ सालमै उनको पुस्तक 'भीमसेन थापा र तत्कालीन नेपाल'ले मदन पुरस्कार प्राप्त गरेको थियो । परराष्ट्र मन्त्रालयबाट सरकारी सेवामा प्रवेश गरेका नेपाली चीनसँगको सीमा निर्धारण समितिमा पनि थिए । उनका ' श्री ५ रणबहादुर शाहः व्यक्तित्व र शासनकाल', 'नेपाली चीन सिमाना सन्धि', 'राणाशाहीको रोलव्यवस्था र धर्मपत्रहरू', 'पारिवारिक षड्यन्त्रका कथाहरू' लगायतका पुस्तक प्रकाशित छन् । भीमसेन थापामाथि केन्द्रित रहेर दीपक सापकोटा र लक्ष्मण श्रेष्ठले मंगलबार नेपालीसँग गरेको कुराकानीः
- इतिहास लेखनमा कसरी लाग्नुभयो ? 

एउटा भनाइ छ, हरेक लेखकको जीवन कविताबाटै सुरु हुन्छ । मैले पनि कविताबाटै लेखन सुरु गरेँ । बिस्तारै कविता लेखेरै भाषासाहित्यमा सेवा गर्न सकूँला भन्ने लागेन । आईएमा हिस्ट्री लिएर पढेँ । पिताजी परराष्ट्रको जैसीकोठाको हाकिम हुनुहुन्थ्यो । जैसीकोठा भनेको सरकारी निर्णयहरूको कागजात रहने ठाउँ हो । त्यहाँ थुप्रै ऐतिहासिक कागजात थिए । ती कागजातमा मेरो रुचि बढ्दै गयो । पिताजी इतिहासका कुरा गरिरहनुहुन्थ्यो ।
नेपालको इतिहासको वैज्ञानिक लेखन सुरु गर्ने इतिहासशिरोमणि बाबुराम आचार्य बेलाबेला मेरो पिताजीकहाँ आउनुहुन्थ्यो । त्यति बेला उहाँको आँखा बिग्रिसकेको थियो । नातिको हात समातेर हिँड्दै आउनुहुन्थ्यो । मेरो पिताजी र उहाँ साथी हुनुहुन्थ्यो । उहाँहरू इतिहासबारे नै कुरा गर्नुहुन्थ्यो । त्यो सुनेर पनि मलाई इतिहासमा रुचि बढ्यो । लेखकहरूको संगतमा भएकाले पढ्ने बानी पर्‌यो ।
अर्को प्रेरणा मलाई कलेजबाट पनि मिल्यो । इन्डियन हिस्ट्री पढाउने गोकुल चन्दले इतिहासलाई आफ्नै आँखाबाट हेर्नुपर्छ, विदेशीले लेख्दा आफ्नै दृष्टिकोणबाट व्याख्या गर्छन् भनेर बारम्बार भन्नुहुन्थ्यो । हुन त मैले पछिमात्रै लेख्न सुरु गरें तर कक्षामा उहाँले पढाएको पाठ मेरो मनमै थियो । यसरी नै इतिहास लेखनतिर म प्रवेश गरेको हुँ ।
-इतिहास लेखनमा तपाईंले सुरुमा कस्तो सन्दर्भ सामग्री लिनुभएको थियो ? त्यतिखेर इतिहास लेखनको स्थिति कस्तो थियो ? 

मैले इतिहास लेखन २००९÷२०१० बाट सुरु गरेको हुँ । त्यति बेला नेपालीमा खासै किताब थिएनन् । राणाकालको अन्त्यसम्म पनि बाबुराम आचार्यको कुनै पनि किताब पुस्तक प्रकाशित भएको थिएन । उहाँले मल्लकालबारे त केही लेख्नुभएको थियो तर शाहकाल र राणाकालबारे उहाँको कुनै पनि लेखरचना प्रकाशन हुन पाएको थिएन । उहाँले पृथ्वीनारायण शाहबारे गर्नुभएको खोज पनि दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीज्यूलाई उपयोग गर्न दिनुभएको थियो ।
नेपालमा प्रकाशन गर्नसक्ने स्थिति थिएन । सात सालपछि मात्र बाबुराम आचार्यका पुस्तक आउन थाले । बढीजसो विदेशी किताब नै पढिन्थ्यो । तर, किताब पाउन गाह्रो थियो । पुस्तकालयहरू पनि थिएनन् । एउटा केशरशमशेरको थियो । त्यहाँ किताब पढ्न त पाइन्थ्यो तर घर ल्याउन पाइँदैनथ्यो । मलाई भने पछिपछि किताब ल्याउन पनि दिएका थिए । 'पढ्न दिएर के गर्नु, फर्काउँदैनन्' भन्थे । मैले बढीजसो ऐतिहासिक कागजातकै अध्ययन गरेँ ।
-इतिहास लेखनको पहिलो चरणमा भीमसेन थापा नै किन रोज्नुभयो ? 

मैले आफ्नो सीमित ज्ञानका आधारमा लेख्न सुरु गरेको हुँ । नेपालको प्रामाणिक इतिहास लिच्छवीकालदेखि सुरु भएको हो । लिच्छवीकालबारे केही विदेशीको मात्रै किताब आएको थियो । अरू थिएन । लिच्छवीकालको कागजपत्र पढ्न मैले संस्कृत जान्नुपथ्र्यो । दुर्भाग्यवश, मैले संस्कृत पढ्न पाइनँ । त्यसबखत हामीलाई संस्कृत पढ्ने वातावरण थिएन । एक त हामी नेवार, ब्राह्मण कुलमा जन्मेनौं, अर्कोतर्फ हामी मध्यमवर्गीय जागिर खानुपर्ने परिवार ।
त्यसैले मैले संस्कृत पढ्न पाइनँ । एसएलसीसम्म स्कुलमा पढेको संस्कृतले गहन अध्ययन हुँदैन । आफ्नै ज्ञानको सीमितताले मलाई लिच्छवीकालको अध्ययन गर्न दिएन । फेरि संस्थागत काम थिएन, व्यक्तिगत रूपमै अनुसन्धान गर्नुपथ्र्यो । अर्कोतर्फ मल्लकालका दस्तावेजहरू संस्कृतमा कम भेटिन्थे । ती नेवारी लिपि (रञ्जना लिपि)मा थिए । मैथली पनि आइसकेको थियो । म नेवारी लिपिमा पोख्त थिइनँ । त्यसैले मैले मल्लकालका दस्तावेजहरू पनि पढ्न सकिनँ ।
फलस्वरूप म शाहकालदेखि यताकै इतिहासमा सीमित हुनुपर्‌यो । मेरो पिताजीले कपी गरेर राख्नुभएका सामग्रीहरू पढेँ । ती भीमसेन थापाबारे थिए । अर्कोतर्फ नेपालमा ३१ वर्ष प्रधानमन्त्री भएको मान्छे, अनि निकै ठूलो संकट भोगेको मान्छे थिए भीमसेन । त्यति बेला अंग्रेजसँग लड्नु सामान्य थिएन । संसारभर साम्राज्य फैलाउँदै आएको ब्रिटिसलाई रोक्नु चानचुने थिएन । त्यस्तो स्थितिमा ३१ वर्ष शासन गरेर पछि निकै दुखान्त भएकाले पनि भीमसेनबारे म इच्छुक भएँ । एउटा सामान्य परिवारबाट आएर त्यत्रो वर्ष शासन गरेर दुखान्त भोग्नु परेको उनको क्यारेक्टर मलाई निकै ड्राम्याटिक लाग्यो । त्यसैबारे हाम्रा साथीहरूबीच पनि छलफल हुन्थ्यो । यी सबैले मेरो रुचि भीमसेनतर्फ बढ्यो ।
-भीमसेन थापाबारे तपाईंले गर्नुभएको खोज के थियो ? 

भीमसेनबारे त्यति बेला नेपालीमा कुनै किताब नै थिएन । विदेशीले लेखेको किताबमा खासै विस्तृतमा छैन । भीमसेनबारे उनीहरूले लेखेका छन् । हड्सनको जीवनीमा अलिअलि प्रसंग आएको छ । तर, खासै केही लेखेका छैनन् । खालि 'वार प्राइममिनिस्टर' भनेरमात्र लेखेका छन् । तर, भीमसेन थापाको प्रधानमन्त्रित्व युद्धमा मात्रै बितेको त होइन नि । ३१ वर्षमा दुई वर्षमात्र त युद्ध भएको हो । उनले अरू काम पनि गरेका छन् ।
मैले खोज्दै जाँदा फेला पारेँ, उनले प्रशासनिक क्षेत्रमा निकै सुधार गरेका थिए । ठाउँठाउँमा बजार गुल्जार गरेका थिए । आर्थिक क्षेत्रमा पनि उनले धेरै योगदान गरेका छन् । हुन त मैले आर्थिक क्षेत्रबारे खासै लेखेको छैन । अरूले नै लेखेका छन् । त्यस्तै सेनाको सुदृढीकरणमा पनि उनले योगदान गरेका छन् । सामाजिक सुधारहरू पनि गरेका छन् । उनका योगदानबारे पहिलोपल्ट मैले आफ्नो किताबमा उल्लेख गरेँ ।
-भीमसेन थापाको खास दुखान्त के हो ? उनीबारे विभिन्न प्रचार पनि गरिएका छन् । उनको मृत्यु कसरी भएको हो ?
ठूलाबडाको मृत्युको कारण खोतल्न निकै गाह्रो छ । कुन सत्य हो कुन असत्य हो भनेर पत्ता लगाउन गाह्रो छ । धेरै प्रचारबाजी गरिन्छन् । मैले विभिन्न प्रमाणका आधारमा फेला पारेको यथार्थ के हो भने उनलाई पक्राउ गरेर थुनेपछि उनकी श्रीमतीलाई नांगै बनाएर सहर डुलाउने हल्ला चलाइएको हो, डुलाइएको होइन । उनलाई दुईपटक मुद्दा चलाइयो ।
पहिलोपटक मुद्दा जितेपछि राजाले छोड्दिए । त्यसपछि उनी फेरि उदाउन थाले । फेरि शक्तिमा आउने हो कि भनेर उनका विरोधीहरूलाई डर लाग्यो । त्यसैले फेरि अनेक दोष लगाएर समातियो । यसरी त भएन भनेर विरोधीहरूले सोचे होलान् । तर, दोषी ठहर गर्न पनि सकेनन्, छोड्दिन पनि सकेनन् । उनको क्यारेक्टर चिनेको मान्छेले षड्यन्त्र गर्‌यो र भीमसेन–पत्नीलाई नांगै सहर घुमाउने हल्ला फैलाइदियो । यसले गर्दा उनले आत्महत्या गर्नुपर्‌यो ।
-आत्महत्या गरेकै हुन् त ? 

आत्महत्या त गरेकै हो । त्यो त लेखेकै छ । तर केले सेरियो भन्ने हो । कोही खुकुरीले सेरियो भन्छन्, कसैले काँचको टुक्राले भन्छन् । कसैले षड्यन्त्रकारीले भीमसेनसम्म खुसुक्क खुकुरी पुर्‌याइदियो भन्छन् । उनी खुकुरीले नभई काँचले नै सेरिएर मरेका हुन्... ऐनाको सुरुआत पनि त्यति बेलै भएको थियो । अर्कोतर्फ नौ दिनसम्म उनको मृत्यु भएको थिएन । खुकुरीले सेरिएको भए त चाँडै नै मृत्यु हुन्थ्यो ।
-भीमसेनमाथिको षड्यन्त्रपछाडि थापा खलक र पाँडे खलकबीचको झगडाले काम गरेको थियो ? 

खलकको झगडा नभनौं, त्यति बेला शक्तिमा यस्तै केही परिवार थिए- थापा, पाँडे, बस्नेत आदि । दामोदर पाँडेलाई हटाएर उनी आएकाले स्वभावतः उनका छोराले बदला लिन कोसिस गर्ने नै भए । भीमसेन थापालाई हटाएर रणजंग पाँडे सत्तामा आए । त्यो पारिवारिक झगडामात्रै होइन । वास्तवमा त्यो राजनीतिक शक्तिबीचको झगडा थियो ।
-तपाईंको बहुचर्चित किताब 'जनरल भीमसेन थापा र तत्कालीन नेपाल' माथि पछि बाबुराम आचार्यको खण्डन आयो । त्यसरी खण्डन आउनुको कारण के के थियो ? केमा खण्डन भएको थियो ? 

उहाँको किताब 'भीमसेन थापा मैले जस्तो देखेँ' आयो । त्यो उहाँको देहान्तपछि छोराहरूले निकालेका हुन् । त्यसमा मैले केही पनि खण्डन भेटिनँ । हुन त त्यसलाई खण्डन भनियो तर त्यो खण्डन होइन । उहाँले भीमसेन थापाबारे आफ्नो दृष्टिकोण लेख्नुभएको हो । बाबुराम आचार्य भीमसेन थापाले राम्रो गर्‌यो भन्ने पक्षमा हुनुहुन्थेन ।
-भीमसेन थापा लामो समयदेखि विवादमा छन् । कसैले उनलाई देशभक्त भन्छन् त कसैले देशद्रोही । तपाईंको खोजले के भन्छ ?
पक्ष–विपक्ष भन्ने बेग्लै कुरा हो । म उनको पक्ष–विपक्षमा छैन । इतिहास भनेको घटनाको विश्लेषण हो । इतिहासको विश्लेषण गर्दा त्यहाँ दुई राय, तीन राय हुन्छ । भीमसेन थापाको विश्लेषण गर्दा उनको उदय नै गलत भयो भन्ने पनि छ । उनको उदयले हाम्रो नेपाल बाँच्यो भन्ने पनि छ ।
-नयाँ पुस्ताले भीमसेन थापालाई कसरी चिन्ने ? 

मेरो दृष्टिकोणमा त उनी नेपालको हिरो नै हुन् । उनले देशको निम्ति लडे । अंग्रेजसँग लडेर देश जोगाए । कोही भन्छन्, सुगौली सन्धिले गर्दा नेपालले भूमि गुमाउनुपर्‌यो । तर, त्यो भूमि नेपालले ल्याएको धेरै वर्ष पनि भएको थिएन । २०÷२५ वर्ष त भएको थियो लडेर ल्याएको । साँच्चै नै भन्ने हो भने त्यो आफ्नै भन्ने पक्का भइसकेको पनि थिएन । अंग्रेजले चाहेको भए त सिंगै देश खान सक्थ्यो ।
-भीमसेन थापाले लड्ने नीति नल्याएको भए नेपाल नै नरहन पनि सक्थ्यो ? 

लड्ने नीति उनले ल्याएको होइन । अंग्रेजले लड्न बाध्य पार्‌यो । नलडेको भए नेपाल नरहन पनि सक्थ्यो । त्यत्रो हिन्दुस्तानलाई निल्नसक्ने शक्तिले नेपाल पनि त निल्न सक्थ्यो ।
-इतिहासको चर्चापरिचर्चा गर्दा केही विश्लेषक के भन्छन् भने भीमसेनले अंग्रेजसँग लडेर गल्ती गरे । अनि उनीहरू नै भन्छन्, जंगबहादुरले अंग्रेजलाई सघाएर चारवटा जिल्ला (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) भए पनि ल्याए । यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
जंगबहादुर १९०३ सालमा कोतपर्व गरेर शक्तिमा आएका हुन् । त्यसमा दुईमत छैन । यस्ता तथ्यमा दुईमत हुँदैन । त्यस्ता कर्म देशको हितमा भयो कि भएन भन्ने विश्लेषण गर्दा दुईमत हुन्छ । त्यसैले इतिहास भनेकै घटनाहरूको विश्लेषण हो ।
-त्यही त, भीमसेनबारेको दुईमतलाई कसरी बुझ्ने ? तपाईं र बाबुराम आचार्यको मतमा कुन ठीक ?
दुवैको आआफ्नो विश्लेषण हो । मैले पनि ऐतिहासिक सामग्रीहरूको अध्ययन गरेरै विश्लेषण गरेको हुँ । उहाँले पनि अध्ययन गरेरै विश्लेषण गर्नुभएको हो । कुन ठीक भनेर मैले कसरी भनूँ ?
-दोहोर्‌याएजस्तो भयो, भीमसेन थापालाई हामीले त्यसोभए देशभक्त नै भन्नु ठीक हुन्छ ? 

म मान्दछु ।
-जंगबहादुर नि ? 

जंगबहादुर पनि देशभक्त नै हो । कोहीकोही उनले अंग्रेजसँग झुकेर काम गरेका थिए पनि भन्छन् । सबै ठाउँमा झुकेका थिएनन् । हो, उनी कोतपर्व गरेर आए तर त्यसपछि केही त गरे । त्योभन्दा पहिला भारदारहरू घरबाट निस्कने बेलामा हिसाबकिताब बताएर निस्कन्थे किनभने बेलुका फर्कने हो÷होइन टुंगो हुँदैनथ्यो । त्यत्रो हाहाको जमाना थियो ।
जंगबहादुरले कोतपर्व गरे, भण्डारखाल पर्व गरे तर त्यसपछि शान्त त गराए । शान्त पारेपछि गर्नुपर्नेजति विकास, उन्नति भने गरेनन् । केही त गरेका पनि हुन् । तर, सबैभन्दा ठूलो कमजोरी उनले सम्पूर्ण प्रशासन र व्यवस्थालाई पारिवारिक गराएर गए । त्यो उनको सबैभन्दा ठूलो गल्ती हो ।
- भीमसेन थापाको पतनमा तत्कालीन ब्रिटिस रेसिडेन्सीको पनि भूमिका थियो भन्ने साँचो हो ? 

त्यो त हो नि । त्यति बेला ब्रिटिस रेसिडेन्सीको काम नै त्यही थियो । जहाँजहाँ रेसिडेन्सी राखियो त्यहाँ यस्तै भएको छ । ब्रिटिस रेसिडेन्सी राख्नुको उद्देश्य नै षड्यन्त्र गरेर जसरी पनि ब्रिटिस उपनिवेशमै गाभ्नु थियो । त्यसबारे त अंग्रेज लेखकहरूले नै लेखेका छन् । भारतका ठूलाठूला राज्यहरू जस्तै पन्जाब, लखनउ त हडपेकै थियो तर नेपाललाई सकेन ।
ब्रिटिसहरूले ल्याएको 'सब्सिडरी एलायन्स'को खास अर्थ बुझ्ने नै नेपालको भीमसेन थापा थिए भनेर त अंग्रेजहरूले नै लेखेका छन् । भारतमा राज्यहरूलाई माटोको भाँडोजस्तै फुटाल्दै लगेर आफूमा गाभेको देखेको हुनाले भीमसेनले त्यसो गर्न दिएनन् भनेर लेखेका छन् । तत्कालीन ब्रिटिस रेसिडेन्स हड्सनलाई त काठमाडौं उपत्यकाभन्दा बाहिर जानै दिएनन् । त्यसैले पनि अंग्रेजहरूले उनलाई हटाएर आफ्नो हालीमुहाली चलाउन त खोज्ने नै भए । त्यति बेला ब्रिटिस रेसिडेन्सीमा भीमसेन थापाका विरोधीलाई पनि राखेर षड्यन्त्र भएकै हो ।
-त्यति बेलादेखि नै नेपालको अन्तरकलहमा विदेशीहरू खेल्न थालेका हुन् ? 

होइन, होइन । त्योभन्दा पहिला पनि खेलेको पाइन्छ । तर नेपालभित्रै बसेर त्यो पहिलो हो । पहिला बनारसबाटै पनि मतियारहरू तयार हुन्थे ।
- भीमसेन थापाको विरुद्धमा ब्रिटिसले कसकसलाई मतियार बनाए ? 

उनका विरोधीहरूलाई उपयोग गरे । राजाकी जेठी स्वास्नी राज्यलक्ष्मी तथा पाँडे खलकका रणजंग पाण्डेहरूलाई उचाले । पछि शक्तिमा आएपछि रणजंग पाण्डे आफैं पनि ब्रिटिसको विरोधी भए ।
-फेरि इतिहास लेखनमै फर्कौं । नेपालको इतिहास लेखनमा नयराज पन्तहरूको योगदान कस्तो हो ?
एकदमै राम्रो । उहाँहरूले 'संशोधन मण्डल'बाट निकै राम्रो काम गर्नुभयो । बाबुराम आचार्यले सुरु गर्नुभएको इतिहास लेखनको वैज्ञानिक विधि उहाँहरूले समृद्ध पार्नुभयो । संशोधन मण्डल भन्नुको कारण नै त्योभन्दा अगाडि जति पनि इतिहास लेखिएकाका छन्, तिनमा निकै गल्ती थिए । ती सबै गल्ती संशोधन गरेर उहाँहरूले संशोधनपत्रहरू तयार गर्नुभयो । उहाँहरूको अनुसन्धान निकै राम्रो हो । त्यसको देन बयान गरेरै साध्य छैन ।
-अहिलेसम्मको इतिहास लेखन एकपक्षीयमात्र भयो । सबै जातजाति, भाषाभाषीलाई समेट्न सकेन भन्ने छ नि, तपाईंलाई के लाग्छ ?
त्यो सही हो । दुर्भाग्य भनौं, हामीले त्यसरी नै पढेर आयौं । हामीले पढ्दा सामाजिक इतिहास, समाजशास्त्रको विकास नै भएको थिएन । मलाई तपाईंहरूले सोध्नुभयो भने पनि मैले जनताको, समाजको इतिहास के लेख्ने ? मैले त्यस्तो पढेकै छैन । मेरो पढाइको ट्रेन्ड नै त्यस्तै थियो । त्यसैले तपाईंहरूले भन्नुभएको सही हो । राजा, महाराजाको मात्रै इतिहास लेखेर हुँदैन । अब लेख्नु पर्‌यो ।
-त्यसो भए तपाईं इतिहासको पुनर्लेखन हुनुपर्छ भन्ने ठान्नुहुन्छ ?
हुनुपर्छ । नयाँ पुस्ताले इतिहासको बारम्बार पुनर्लेखन गर्नुपर्छ । सबैखाले मत जम्मा गरेर आफ्नै तरिकाले विश्लेषण गर्नुपर्छ ।
-भन्छन्, इतिहास जित्नेहरूको घोडा हो । नेपालको इतिहास लेखनमा सत्ताको जयगान भएको छ कि छैन ?
त्यस्तो त हुन्छ । पुराना वंशावलीहरू हेर्दा त्यस्तो देखिन्छ । तर, सबै इतिहास लेखन त्यस्तो होइन । मैले नै रणबहादुर र भीमसेन थापा कालको इतिहास कसैको दबाबमा वा प्रशंसामा लेखेको त होइन । त्यसो त समाजमा भएका केही मान्छेले त्यस्तो गर्छन् । शक्तिमा भएका मान्छेहरूको वर्णन गरेर नाटक, कथा लेख्छन् ।
जस्तै चन्द्रशमशेरको जयगानमा 'भूचन्द्रिका' भन्ने किताब छ तर त्यो त इतिहास होइन । इतिहास लेखनमा मैले त्यस्तो केही देखेको छैन । बाबुराम आचार्यले पृथ्वीनारायणबारे नारायणहिटीको सहयोगमा लेख्नुभयो भन्ने हो । तर त्यो सहयोग त उहाँले किताब छाप्न पो लिनुभएको हो । अनुसन्धान त आफ्नै हिसाबले गर्नुभएको हो ।
-तपाईंले परराष्ट्र सेवालगायत विभिन्न सरकारी पदमा बसेर काम पनि गर्नुभयो । त्यसको अनुभव कस्तो छ ? इतिहास लेखनमा केही सघाउ पुग्यो कि ?
त्यो कारिन्दा भएर गरिएको काम हो । त्यसको संस्मरण मलाई केही भन्नु छैन । त्यति हो, त्यहाँ बस्दा मैले केही कागजात हेरेर इतिहास लेखनमा योगदान गर्न सकेँ । त्यसो त मेरो बा, हजुरबाहरू नै जैसीकोठामा काम गनुहुन्थ्यो ।
जैसीकोठा भनेको कागजात राख्ने कोठा हो । पहिला त्यहाँ लडाइँको साइत पनि हेर्ने भएकाले ज्योतिष जानेको मान्छे नै हुन्थ्यो । त्यसैले जैसीकोठा भनिएको हो । पछिमात्र त्यसले नेपाल-चीन सम्बन्ध हेर्न थालेको हो । त्यहाँ भएका कागजात अध्ययन गरेँ, त्यति हो । मलाई आफ्नो जागिरे जीवनबारे कुनै संस्मरण लेख्नु छैन ।
-तपाईं चीनसँगको सीमा निर्धारण समितिमा बस्नुभयो । त्यसमा खासै विवाद छैन । तर, भारतसँगको सीमामा आज पनि विवाद छ । बुद्धिनारायण श्रेष्ठहरूले लेखिरहनुभएको छ । इतिहासकारको आँखाबाट हेर्दा यस्तो विवाद भइरहनुको कारण के हो ?
भारतसँग पहिले नै सीमांकन भइसकेको हो । त्यसमा जंगे स्तम्भहरू राखिएका हुन् । अहिले विवाद होइन सिमाना मिचिएको मात्र हो । सिमाना मिचिनेमा कसको अर्घेल्याइँ भन्ने जगजाहेर नै छ । कहिलेकाहीँ नदीको सिमाना राखेको ठाउँमा सिमाना सर्छ । नदीले बाटो फेरेर समस्या आएको हुनसक्छ । त्यस्तोमा त हरेक पाँचदस वर्षमा दुवै देशका विशेषज्ञ बसेर टुंगो लगाउनुपर्छ । मिडियाबाजी गरेर हुँदैन ।

No comments:

Post a Comment