Wednesday, 9 September 2015

बगाले थापा क्षत्रीको कुलपूजा विधि


                                                                          –भीम बहादुर थापा 
हाम्रा कुल देवता श्री शंकर भगवानको आर्शिवाद र हाम्रो गौरवशाली पराक्रमको प्रसादले बगाले थापा क्षत्रीहरु नेपालको एकीकरण पूर्व देशको विभिन्न  भूखण्डमा राजा भएका थिए भने नेपालको एकीकरण पश्चात नेपालको प्रथम प्रधानमन्त्री, मूख्तियार र कमाण्डर–इन–चिफसम्म भएका थिए ।
राज्य र केही जातको कपटपूर्ण षडयन्त्रबाट वि.सं. १८९६ मा भीमसेन थापा र वि.सं. १९०२ मा माथवरसिंह थापाको अवसान भए पछि  बगाले थापाहरु आफ्नो ज्यान बचाउन यत्रतत्र लागेका थिए । त्यसै गरी वि.सं. १९०३ मा राज्यको सहमा जंगबहादुर कुँवरले मच्चाएको रक्तरञ्जित कोतपर्वमा बचेखुचेका बगाले थापाहरु फेरी काटिए मारिए । यसरी पटक–पटक बगाले थापाहरु माथि षडयन्त्रको बज्रपात हुँदा  ज्यानै बचाउन मुश्किल भएको अवस्थामा एकरुपको कुल परम्परा बचाउन सम्भव भएन। त्यसैले आज हामी विश्वभरी छरिएर रहेका बगाले थापाहरुको कुल पूजा (देवाली), कालरात्री आदि एउटै तिथि मिति र एउटै विधिबाट हुन सकेको छैन । हाम्रो बिउ नै मास्ने गरी राज्य र केही जात विशेषले विभिन्न षडयन्त्र गरेता पनि हामी मासिएका छैनौ, कुलपितृका आर्शिवादले दुवो झंै मौलाउदै हाम्रो जनसंख्या करिव ८ लाख पुगेको अुनमान छ । अव हामी सबै बगाले थापा एउटै नीति र एउटै थितिमा अगाडी बढ्नु पर्ने दिन आएको छ ।

१. कुल परम्पराको अनुसन्धानः
इतिहासमा हाम्रो कुलपरम्परा खोज्दै जाँदा हाम्रा मूलपुरुष कालु थापाका पाला देखि शत्रु–वैरीको षडयन्त्रले लाखापाखा नलागुन्जेल बगाले थापाहरुले शिवजीलाई कुल देवता र कालिका भवानीलाई कुलदेवी मानेर निसान कालिका ध्वजा, बराह–बाराही, गुरु गोरखनाथ, मष्ट र स्थानीय प्रचलनका देवी देवतालई  मान्ने गरेको पाइयो । त्यही आधारमा गरिएको विस्तृत अनुसन्धान पछि प्राप्त कुल परम्परालाई समायनुकुल परिमार्जन गरी सरल र व्यावहारिक बनाइएको  छ । किनभने हामी बगाले थापाको  परम्परा अनुसार कुल पूजा गर्दा अमलाको पातको दुना टपरी, आफ्नै खेतबारीमा उब्जाई आफैले कोलमा पेलेको कालो तिलको तेल, हातले छोडाएको मुरी–मुरी चामल, कपिला कैली गाईको घिउ, निक्खर कालो बोको, शुद्ध सेतो हाँसे भेंडाको साँढ आदिको व्यवस्था गर्नु पर्ने देखियो, जुन सामग्री बर्तमानमा जोडन कठिन हुँदा परम्परा नतोडिने गरी समयानुकल विधि चयन गरिएको छ ।

२. कुलपूजा (देवाली) को तिथि मिति ः
धेरैजसो बगाले थापाहरुले बैशाख, जेठ, मंसिर र फागुनमा पर्ने पूर्णिमा, शुक्ल अष्ठमी र विवाहका लग्नहरुमा कुलपूजा (देवाली) गरेको पाइयो । बुद्ध जयन्ति(पूर्णिमा) बैशाख–जेठ र धान्य पूर्णिमा मंसिर–पुषमा पनि कुलपूजा गरेको बुझियो । यी पूर्णिमाहरुमा क्रमश ः अहिंसाका प्रवर्तक बुद्ध भगवान र आत्रेयगोत्री सिद्ध पुरुष दत्तात्रयको जन्मजयन्ती पर्ने हुँदा यी दिनहरु पशुबलिका लागि शुभ मानिन्नन् । शुद्ध गाईको दूधमा खीर पकाएर कुलपितृलाई “पायस बलि” मात्र दिन सकिन्छ । त्यसै गरि कतै श्रीपञ्चमीमा कुल पुजा  गरेको पाइयो, यो पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने पर्व हो । सात्विक देवी सरस्वतीको पूजाको दिन पशु बलि दिन पूर्ण त बर्जित हुन्छ । पायसबलि एउटा मात्र वा पशुबलि एउटा मात्र वा दुवै बलि दिएर कुलपूजा गर्न सकिन्छ ।  स्त्री चौपाया बलि दिन पूर्णत निषेध गरिएको छ ।  बगाले थापाहरु स्वभावैले आँटिला वीर लडाकु हुन्छन । जीविकाको लागि उनीहरुको पहिलो प्राथमिकता सैनिक सेवा हुने गर्छ । सेनामा सवैभन्दा ठूलो महत्व वीरता र हातहतियारको हुन्छ । शत्रुसेनासंग लँडाई गरी विजय प्राप्त गर्न हातहतियारले धोखा दिनु हुँदैन । हतियारबाट  धोखा नहोस भनेर अस्त्र–शस्त्रधारी सबैले अधिष्टात्री कालिका  भवानीको पूजा गर्ने प्रचलन  छ । त्यही भएर बगाले थापाहरु प्रायः कालिका भवानीका परम भक्त हुन्छन् । कालिका भवानीलाई खुशी पारी इच्छित शक्तिको आर्शिवाद प्राप्त गर्न पाएसम्म निक्खर कालो बोको, नपाए जुनसुकै रंगको भए पनि बोकाको बलि दिने चलन छ । यस अभिष्टका लागि कालिका भवानीको सबभन्दा प्रिय तिथि शुक्ल पक्षको अष्ठमीलाई मानिन्छ । त्यसमा पनि बर्षे दशैको महाअष्टमी, चैते दशैको चैत्राष्ठमी र मङ्सीरको शुक्ल अष्टमी सबैभन्दा उत्तम  तिथि मानिन्छ । बर्षेदशै र चैतै दशैमा  कालिकाको क्रमशः कालरात्री र दिवा पूजा हुने हुँदा कुलपूजा (देवाली) मंसिरको शुक्ल अष्ठमीमा गर्नु सबै भन्दा राम्रो मानिन्छ । कुलपूजा प्राय ३ बर्ष विराएर गर्ने चलन छ ।
बर्षे दशैंमा घटस्थापनाका दिन देखि दैनिक बिहान र सप्तशती चण्डी पाठ गरी महाअष्टमीका राती कालरात्री पूजा गरिने ठाउँबाट देखिने डाँडामा चन्द्रमा आधा यता र आधा उता भएको समयमा  कालो बोकाको बलि दिने चलन छ । परापूर्वकालमा कालिका भवानीले यसै समयमा महिषासुर राक्षसको बध गरी देवता र मनुष्यको उद्धार गर्नु भएकोले त्यही विजयको संझना स्वरुप कालरात्री मनाउने गरिएको मानिन्छ । वास्तवमा यो पूजा असत्य माथि सधै सत्यको जीत हुन्छ भन्ने संकेतका रुपमा गरिन्छ । चैंते दशैमा पनि बर्षे दशैमा  जस्तै शुरु देखि चण्डी पाठ गरी अष्ठमीको दिउँसो कालिका भवानीको पूजा गरी बलि दिने चलन छ । दुवै पूजामा सरिक हुँदा ३ दिन अघिदेखि शारिरीक र मानसिक रुपले शुद्ध रहनु पर्छ ।

३. शिवजी, कालिका मन्दिर निसान घर र गवारो ः
उपयुक्त ठाउँमा शिवजी, कालिका, निसान घर र गवारो समेत ४ वटा मन्दिरहरु निर्माण गरी गवारोमा कुलपूजा (देवाली), शिवरात्रीमा  शिवजीको पूजा, बर्षे दशैको महाअष्ठमी र चैते दशैका अष्ठमीमा कालिका भवानीको पूजा र यीनै अवशरहरुमा निसान झण्डाको पूजा अर्चना गर्नुपर्छ । यी सवै देवी देवताको दैनिक पूजा गर्नु हाम्रो परम धर्म हो । विशेष गरी आइतवार निसान झण्डाको, सोमबार शिवजीको, मंगलबार शनिवार र शुक्ल अष्ठमीमा कालिका भवानीको पूजा गर्नु राम्रो मानिन्छ । “धर्म रक्षती रक्षितः” अर्थात हामीले धर्मको रक्षा ग¥यांै भने हामीलाई धर्मले रक्षा गर्छ । यही भावनाले हामीले देवी देवता र कुलपितृको सेवा ग¥यौ भने हामी सबैलाई सुख शान्ति प्राप्त हुनेछ ।
गवारो निर्माण गर्दा गवारोकोे ढोका पूर्वतिर राखी भीत्र देवी देवताहरु  स्थापित गर्ने खोपाहरु बनाउनु पर्छ । गवारोको पूर्व वा पश्चिमपट्टि अमलाको रुख अनिवार्य रुपमा रोप्नु पर्छ । अमलालाई सु–स्वास्थ्य र दिर्घायुको प्रतिक मानिन्छ । दाजु–भाइको संंख्या अनुसार लम्वाई–चौडाई निर्धारण गरी बनाइएको गवारो भित्र अनुकूल ठाउँमा  बलि दिने मौलो गाड्नु पर्छ । मौलो बेल वा खयरको  बनाउनु पर्छ । २ फिट जमिनमुनी र ५ फिट जमिन माथि हुने गरी ७ फिटको मौलो  कुल पितृका लागि राम्रो मानिन्छ । गवारो  माथि छानो हाल्न, हुँदैन अकाशतर्फ खुल्ला हुनु पर्छ ।


४) कुलपूजा (देवाली) को पूर्वाङ्ग ः
कुलपूजा हुनुभन्दा कम्तिमा ३ दिन अघिदेखि मूल धामी, मूल पूजारी, सहायक धामी, सहायक पूजारी , काम्ने बन्धु र कुल पूजामा सरिक हुन चाहाने सवै कर्ताहरु दैनिक प्रातः काल स्नान गरी शुद्ध बस्त्र धारण गरी, माछा, मासु, मद्य, लसुन, प्याज, गोलभेंडा, भण्टा , कोदो, गहत, मास आदि नखाई, ब्रह्मचर्यमा रही, रिस– राग, झै–झगडा, बैमनस्य त्यागी,  शरिर र मन दुवै शुद्ध राखी देवी देवता र कुलपितृको ध्यानमा रहनु पर्छ ।  कुल परम्परामा बगाले थापाको कुलपूजा मध्यरात्रीमा अरु जातले नदेख्ने गरी  गर्नु राम्रो हुन्छ । तीन दिन अघि देखि सबै बन्धुहरुले आ–आफ्नो  घर शुद्ध गाईको गोबरले लिपपोत गरी दैनिक साँझ विहान कुलपितृको नाममा आफैले कातेको कपासको ७ सुते बत्ति जगाई शुद्ध गाईको घिउबाट धुप बत्ति गर्नु पर्छ ।  त्यसपछि “हे  कुल पितृ–मातृ देवता हामी हजुरका  शरणमा  छांै , हामी सबैलाई  सुख, शान्ति, र दिर्घायु दिनुहोस्, हामी अन्जान छौ, धेरै गल्तीहरु भए होलान्,   हामीलाई क्षमा दिनु होस...... ” भनी शुद्ध भावनाले प्रार्थना गर्नुपर्छ ।

क) कुलपूजाको अघिल्लो दिनको देवी–देवता स्थापना र पूजा विधि ः
१) कुल देवता शिवजी (शिव पाञ्यायन देवता– (देवी, सूर्य, विष्णु, गणेश), शिवजीलाई ११८८ संख्यामा “नमः शिवाय”  पञ्चाक्षरी महामन्त्रद्वारा हवन ।
पूजा विधि ः षेडशोपचार सर्वदेव पूजा विधि ः (१६ प्रकारले पूजा–हवन गर्ने)
२) कुलपितृ देवता ः (बराह बाराही, मष्ट, कालु थापा लगायत )
पूजा विधि ः कुल देवता पूजा विधि र षोडशोपचार विधि  ।
३) निसान कालिका ध्वजा (हातहतियार, गुरु गोरखनाथ)
पूजा विधि ः सूर्य, चन्द्र, गोरखनाथ, सहस्रनाम जप विधि ।
यी ३ वटै स्थापना तामाको थालीमा हातले छोडाएका चामल, भेटी, जनै, सुपारी, फुलफूल, नरिवल आदि चढाई देवी देवताका फोटो वा प्रतिक राखी माथि उल्लेखित विधिबाट पूजा गर्नु पर्छ । शिवजीलाई सेतो, सूर्य, देवी, र गणेशलाई रातो र विष्णुलाई पहेंलो कपडा चढाउनु पर्छ ।  त्यसै गरी बत्तिको हकमा  शिवजी, सूर्य र विष्णुलाई ५ सूते, कालिका भवानीलाई ९ सुते, चन्द्रमालाई ७ सुते, कुलपितृलाई ५ वा ७ सुते  र गणेशलाई २१ सुते बत्ति चढाउनु पर्छ । विभिन्न  सुते बत्ति उपलव्ध नभएको अवस्थामा  ५ सुते बत्ति सबै देवी देवतालाई चढाउन सकिन्छ । यी पूजाहरु मूलघर वा निसानघरमा  गर्नु पर्छ । सर्वप्रथम पूजा गर्ने ठाउँको स्थान शुद्धीका लागि सस्र्यु र गंगाजल  छर्की लिपपोत गरी  दुवै ठाउँमा आफुले सम्झनु पर्ने सवै स्थानीय देवी देवता,  सिद्ध, झाँक्री, लागोभागो, नागनगिनी, थानीमण्डली, वायुबतास, भुतपिचास, मसान  आदिका नाममा धजा बाँधी, धुप दिप गर्नु पर्छ  ।
ख) कुल पितृ देवि देवतालाई गवारोमा विराजमान हुन निमन्त्रणा टक्राउने ः
सवै बन्धुहरु मूलघर वा निसानघरमा जम्मा भई शंखघण्ट, बाजागाजा, पूजा सामग्री  सहित गवारोमा  गई ३ पटक गवारोको प्रदक्षिणा गरी सबै देवीदेवताको पूजा प्रार्थना गर्दै “भोली हाम्रो कुलपूजा (देवाली) हो, हाम्रा परमपूज्यनीय हजुरहरु हाम्रो पूजामा पाल्नु भई हाम्रो पूजा–प्रसाद ग्रहण गरी दिनु होला, हामी अनजान छांै हामीबाट धेरै गल्तीहरु भए होलान, क्षमा दिनु होला, हजुरहरुलाई हाम्रो सादर निम्ता छ ....” भनी कुल पितृलाई निम्ताको लागि सम्मानपूवर्क आव्हान गर्नु  पर्छ । गवारोमा  सबै देवी देवताको सहस्रनामबाट पूजा गरी धुप बत्ति गर्नु पर्छ । गवारो भित्र पूजाआजा गर्दा र बलि दिंदा अन्य जात–जातीले देख्नु हुँदैन, त्यसैले सम्पूर्ण गवारोको पर्खाल रातो वा सेतो कपडाले चारैतिर बार्नु पर्छ । मूलघरमा पूजा भए पछि शिवजीको लागि एउटा र कुलपितृको लागि एउटा गरी दुइवटा दियो बाली गवारोमा जाँदा कुलपितृको दियो, हात–हतियार र निसान झन्डा लिएर जानु पर्छ ।  कुलपूजाको बेलामा गवारोमा गाईको गोबरले लिपपोत गरी तोरण, ध्वजापताका, धनुबाँसको लिंगो आदिले सजाउनु पर्छ । कुलपूजाको अघिल्लो  दिन गवारो भित्र बहिर गंगाजल  र संस्र्यु छरी बिजातीय  तत्वहरुबाट गवारोलाई सुरक्षितरुपमा सिमाना बाँध्नु पर्छ । पूजा समाप्त भएपछि गवारोलाई सफा गरी पुनः  गाईको गोबरले लिपपोत गरी “हामी फेरी निश्चित तिथी मितिमा आउने छौं, हजुरको आर्शिवादले पूजा राम्ररी सम्पन्न भएकोमा हामी आभारी छौ....।” भनी धुप बत्ति गरी फुलप्रसाद चढाई गवारोबाट विदा हुनु पर्छ ।

५. ४ (क) १ शिव पाञ्चायन देवताको षोडशोपचार पूजा विधि (मन्त्र)
कर्ता मन, बचन, कर्म र कायाले शुद्ध भई पञ्चगव्य र कर्मपात्र निर्माण गर्ने, कर्मपात्रको जलले आफूलाई र पूजन सामग्रीलाई सेचन गर्ने, पूजास्थलमा गंगाजल र संस्र्यु छर्ने, त्यसपछि प्रायश्चित्त गोदान गरी निम्न बमोजिम प्रतिज्ञा संकल्प गर्ने ।

६) कुल पूजाको बलि दिने दिन बिहानै मूलघरबाट बिध्नहर्ता सिद्धिविनायक श्री गणेश भगवानको पूजा अर्चना गरी त्यहाँ स्थापित सबै देवी देवताको धुप बत्ति गरी पुरोहित, पञ्चकन्या सबै बन्धुहरु दर्शनीलाई रातो अक्षताको टीका लगाई दिई सबै स्थानीय देवतालाई सम्झेर धजा बाँधी  सजधजका साथ हाँसीखुशी उल्लासमय वातावरणमा गवारो तर्फ लाग्नु पर्छ । शिव पाञ्चायन देवता र एउटा प्रज्वलित दियो मूलघरमा राखी कुलपितृ स्थापना, एउटा प्रज्वलित दियो वीरताका प्रतिक ढाल, तरवार, खुँडा, खुकुरी, एउटा निसान कालिकाध्वजा मूलघरमै राखी अन्य निसानकालिकाध्वजा समाई गवारोमा प्रस्थान गर्नु पर्ने परम्परा रहेको छ । गवारोतर्फ जाँदा सबै भन्दा  अगाडी पञ्चेबाजा, दोश्रोमा पवित्र जल सेचन गर्ने पुरोहित, तेश्रोमा पूर्णकलश, कालिका, बराह, कुलपितृर्थस्थल (ताकम) को तस्विर, धादिङ केवलपुरको तस्विरलाई फूलमाला पहिराई चामल सहितको तामाको थालीमा  राखी मार्ग दर्शन गराउने रातो पोशाक पहिरिएका पञ्चकन्या, चौथोमा दियो समाउने पूजारी, पाँचौमा निसानकालिका ध्वजा, छैठोमा हातहतियार समाएका पुरुष, सातांैमा मूल धामी, सहायक धामी, देवता उत्री काम्ने बन्धुहरु र त्यस पछि सरसमान, बलि (बोका–भेडां) समाएका बन्धुहरु रहनु पर्छ । सबै बन्धुहरुले रातो कलेजी (ःबचययल अययिगच) को  रंगको बस्त्र धारण गर्नु पर्ने छ ।  मुलघर देखि गवारोसम्म जाँदा बाटोमा बर, पिपल, स्वामीको रुख वा चौपारी र कुनै देवी–देवताको मूर्तिमन्दिर आदि भए एक पटक परिक्रमा गरी वा केहि समय उभिएर त्यतै फर्की हर्ष बढाई गर्नु पर्छ  । गवारोमा पुगेपछि ३ पटक गवारोको प्रदक्षिणा गरी पञ्चकन्यालाई अगाडी  लगाई गवारोमा प्रवेश गर्नु पर्छ । त्यसपछि सवै देवी देवतालाई यथास्थानमा राखी सहस्र  नामजपबाट पूजाआजा गरी एक आबृत्ति चण्डीपाठ गर्नु पर्छ । रक्तबली अर्पणको लागि बराहबाराहीलाई–२, मष्टलाई–२, र देवीलाई– २, गाईको गोबर र  शुद्ध माटोले कुण्ड बनाउनु पर्छ । झाँक्रीलाई गवारो बाहिर उत्तर तिर छुट्टै  कुण्ड बनाउनु पर्छ । त्यस पछि मौलो र हात हतियारको पूजा गर्नु पर्छ । त्यस पछि सबैभन्दा पहिला कुभिन्डाको बलि दिई क्रमशः मुखको भेंडो र बोकाको बलि दिनु पर्छ । त्यस पछि सबै बन्धुहरुका बलिहरु चढाउनु  पर्छ । बलिलाई अधिल्लो दिन नै मनाई सकिने हुँदा त्यस दिन फेरी मनाउनु आवश्यक हुँदैन । रक्क्त बली नचढ्ने सात्विक देवताहरु शिवजी, गणेश , विष्णु, सूर्य, चन्द्र,  गोरखनाथ लगायत तेत्तिसकोटी देवता, अठासीहजार  शौनकादी ऋषि, पवित्र नदी सहित सम्पूर्ण तिर्थस्थल, १८ पूराण सहित सबै शास्त्र, सनातन धर्म, नेपाल आमा, गौमाता, नौ ग्रह र अन्य सबै समेत १७ ठाउँमा गाईको दूधमा खिर पकाई फलफूल सहित पायसबलि दिनु पर्छ । रगतको छिटा नपर्ने  गवारो देखि अलि परको ठाउँमा लिपपोत गरी पायसबलि दिनु पर्छ । गवारोमा धुप, बत्ति, पूजा गरी सवै कार्य सकिएपछि पुनः अघिजस्तै बाजागाजाका साथ मूल घरमा फर्कनु पर्छ । मूलघरमा आई स्थापित गरिएका सबै देवीदेवताहरुसंग क्षमा प्रार्थना गरी सबै देवीदेवताहरुलाई स–सम्मान यथास्थानमा राख्नु पर्छ ।
अन्तमा ईश्वर विधिविधान र मेवा मिष्ठान्नको भोको हुनुहुन्न, उहाँ त प्रेमको भोको हुनुहुन्छ । शुद्ध प्रेम र भक्तिका साथ सामान्य ढंगले गरिएको पूजाबाट पनि ईश्वर प्रशन्न हुनुहुन्छ । कलियुगमा सवै विधि पु¥याउन नसकिएको अवस्थामा आफ्ना कुल देवता र ईष्टदेवताको नाम जप बाट मात्र  पनि पूजा गर्न सकिन्छ । मुख्य आवश्यकता श्रद्धा, भक्ति र प्रेमको हो ।

2 comments:

  1. सम्पुर्ण बिधि पढ्दा धेरै नै जोस र जागर आयो कतिपय सब्द पढ्दा आङ पनि जिरिङ जिरिङ भयो धन्यवाद छ हजुरलाइ ! जय कुल देबता जय आमा बिन्दबासिनी जय बगाले थापा ! मेरो सम्पुर्ण बन्धु हरुमा सुख र समृद्धि होस मेरो कोटि कोटि नमस्कार छ!

    ReplyDelete
  2. मलाई यो लेख चीत बुझेन जसले लेखेको भय पनि ठिक लागेन माफ पाम

    ReplyDelete